इनरुवा । नेपाली कांग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार गफार अन्सारीले पुनः मतगणना गर्नुपर्ने माग गर्दै आज निर्वाचन कार्यालय इनरुवामा उजुरी दिएका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष समेत रहेका अन्सारीले मतगणना सन्तोषजनक नरहेकोले पुनः मतगणना गर्नुपर्ने माग राख्दै उजुरी दिएका हुन् ।
उपसभापति पदका उम्मेदवार अन्सारीले मंगलवार बिहान निर्वाचन अधिकृत उत्तम पौडेललाई पुनः मतगणना गर्नुपर्ने माग गर्दै उजुरी दिएका हुन् । निर्वाचन अधिकृत पौडेलले पुनः मतगणना तत्काल गर्न नमानेपछि उम्मेदवारहरुले मतगणना कार्य स्थगित गरिएको हो ।
नेपाली कांग्रेस पार्टी कार्यालय इनरुवाको एक कोठामा मतपेटिका प्रहरीको निगरानीमा सुरक्षित राखी सिल गरिएको छ । सभापति पदका उम्मेदवार अन्सारीले मतगणमा शंका लागेकोले पुनः मतगणना गर्नका लागि निर्वाचन अधिकृत पौडेल समक्ष अनुरोध गरेपनि कुनै सुनवाई नभएपछि मतपेटिका सुरक्षित गरी सिल गरिएको बताए ।
उपसभापति पदका उम्मेदवार अन्सारीले आज बेलुका सहमतिको प्रयासबाट आएको निष्कर्षपछि मतगणना सुरु हुने बताउँदै नवनिर्वाचित कांग्रेसका सभापति केदार भण्डारी सहितको नेताहरुसँग छलफल गर्ने र लिखित सहमतिपछि मात्रै मतगणना सुरु हुने बताए ।
नेपाली कांग्रेस सुनसरीको नयाँ नेतृत्व चयन गर्नका लागि गत आइतवार मतदान प्रक्रिया सम्पन्न भएपछि पार्टी कार्यालयमा मतगणना सुरु भएको थियो । मतगणना सुरु गर्दा संस्थापन इतर पक्षका व्यक्तिहरुले उम्मेदवारको सहमति बिना नै रातीको समयमा फटाफट नतिजा ल्याउनका लागि मतगणना सम्पन्न गरेको उनको आरोप छ । आफु उपसभापति पदमा बिजयी भइसकेको र मतगणना हुदाँ नतिजा आफनो पक्षमा नआएकोले निर्वाचन अधिकृतलाई पुनः मतगणना गर्न उजुरी मार्फत अनुरोध गरेको उनको भनाई छ ।
त्यसैगरी उपसभापति पदमा नगेश चन्द्र राईले १ हजार ३ सय ३५ र पंकज महतोले १ हजार ३ सय १३ मत ल्याएर निर्वाचित भएका थिए । उनीहरुको प्रतिद्वन्द्वी गफार अन्सारीले १ हजार २ सय ९७ मत र महेश दत १ हजार १ सय ६६ मत ल्याएर पराजित भएका हुन् ।
उपसभापति पदका उम्मेदवार अन्सारीले आफु बिजयी भएका महतोसँग १३ मतले पराजित भएकोले पुनः मतगणना नभएसम्म बाँकी रहेको मतगणना तत्काल नगर्न रोक लगाएपछि अहिले पार्टी कार्यालयमा मतगणना स्थगित भएको हो ।
यता नेपाली कांग्रेस सुनसरीका सचिव पदका उम्मेदवार रञ्जेश भट्टराईले सोमवार नै निर्वाचन अधिकृतलाई पुनः मतगणना गर्नुपर्ने माग राख्दै उजुरी दिएका थिए ।
नेपाली कांग्रेस सुनसरीका सचिव पदमा माधव बहादुर घिसिङ्गले १ हजार २ सय २९ मत प्राप्त गरी बिजयी भएपछि अर्का सचिव पदका उम्मेदवार रञ्जेश भट्टराईले १ हजार २ सय २८ मत ल्याएर पराजित भएपछि उनले पनि पुनः मतगणना गर्नुपर्ने माग राख्दै तत्काल मतगणना स्थगित गराएको छ । सचिव पदका उम्मेदवार भट्टराईले घिसिङ्गसँग १ मतले पराजित भएपछि पुनः मतगणना नभएसम्म बाँकी रहेको मतगणना गर्न नदिने उनको कथन छ ।