इनरुवा । दुहबी नगरपालिका–५ का ७२ वर्षिय टिकाराम कार्की ६ वर्षदेखी डिप्रेशनको औषधी सेवन गरिरहेका छन् । गत कार्तिक महिनाको १९ गते टिकाराम कार्की चिया खानका लागि दुहबी–५ का लक्ष्मी परियारको चिया पसलमा पुगेका थिए । कार्कीले चिया पसलमा पुगेर लक्ष्मी परियार र आरती परियारसँग समान्य कुरा गर्दै हालखबर सोध्दा उनीहरुले ७२ वर्षिय कार्कीलाई हातपात गर्छन् । कार्की कुटाई खाएर घर आउँछन र आफना आफन्तहरुलाई कुटाई खाएको कुरा सुनाउँछन् ।
कार्की २०७२ सालदेखी डिप्रेशनको लगातार औषधी सेवन गरिरहेका छन् । कार्की डिप्रेशनको औषधी सेवन गरिरहेको कुरा परियार परिवारलाई थाहा हुँदाहुँदै पनि लक्ष्मी परियारकी छोरी आरती परियारले सधै पसलमा आएर जिस्काउने गरेको हुदाँ हातपात गरेको सुनाउँछन् ।
कार्कीका परिवारले कार्तिक २१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिन्छन् । त्यसपछि लक्ष्मी परियार र टिकाराम कार्की परिवारबीच प्रहरी कार्यालयमा छलफल हुन्छ तर पनि समस्या समाधान नभएर घटना उग्र रुप लिन्छ । कार्कीको परिवारले माफी माग्नुपर्छ भनेर अडान लिन्छ । तर परियार परिवारले माफी माग्नु उचित नठानेर घटनालाई बढावा दिएर जातिय नारा बनाएर उग्ररुप बनाउन सफल हुन्छन । इलाका प्रहरी कार्यालय दुहबीमा छलफल हुदाँ विवाद साम्य हुँदैन दुबै पक्षबीच कुटाकुट हुन्छ र परियार परिवारका केही व्यक्तिहरु घाइते हुन्छन् । कार्की परिवारले उपचारमा लागेको खर्च तिर्न तयार रहेपनि परियार परिवारले स्वीकार नगरी सरकारी वकिल मार्फत मुद्दा दर्ता गराउँछन् ।
घटनालाई मिलाउन इटहरीका केही पत्रकार र नेताहरु सक्रिय हुन्छन् र कार्की परिवारका तीन सदस्यलाई जातिय छुवाछुत र ज्यान मार्ने उद्योगअन्तर्गत सरकारी वकिल मार्फत मुद्दा दर्ता गर्छन् । कार्की परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा पहिलो पटक उजुरी दिएपनि छलफलबाट कुनै निष्कर्ष निस्कदैन् । दुहबीका परियार परिवारले मुद्दा दर्ता गरेपछि कार्की परिवारका तीन जना फरार भएका छन् । कार्की परिवारका रोशन कार्की, सन्तोष कर्ण र रवि कार्की माथि जातिय छुवाछुत र ज्यानमार्ने उद्योग अन्र्तगत मुद्दा दर्ता गराउन लक्ष्मी परियार लगायतको परिवार सफल भएपनि हाल उनीहरु फरार रहेका छन् ।
मंगलवार परियार परिवारले पत्रकार सम्मेलनको आयोजना गरेर आरोप प्रत्यारोप लगाउँछन त्यसपछि कार्की परिवारले पनि बुधवार आफनै घरमा पत्रकार सम्मेलनको आयोजना गरेर झुठा मुद्दा लगाएर फसाउन खोजेको बताउँछन् । आफुहरु पटक–पटक घटनालाई मिलाउन आग्रह गरेपछि उनीहरुले घटनालाई जातिय छुवाछुतको नारा दिएर मुद्धा दर्ता गराएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउँछन् ।
इलाका प्रहरी कार्यालयमा घटनालाई मिलाउन माफी माग्न अनुरोध गरेपनि उनीहरुले अटेर गरेर घटनालाई अर्केतिर मोडेको कार्की परिवारका सदस्यहरु बताउँछन् । घटना मिलिसकेको थियो तर इटहरीका दलित संघका नेता तथा पत्रकार पीवी दयालीले ४ लाख रुपैयाँ दिनुस मिलाई दिन्छु नत्र कुरा अगाडी बढ्छ भनेर इटहरीमा बोलाएर भनेपछि आफुहरुले त्यति ठुलो रकम दिन नसकेपछि जातिय छुवाछुत र ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दर्ता गरिएको टिकाराम कार्कीकी बुहारी शारदा कार्कीले आरोप लगाएकी छिन् ।
गल्ती लक्ष्मी परियार र आरती परियारको छ तर ठुलो रकम दिन नसकेकै कारण तीन जनामाथि झुठो मुद्दा लगाएर फसाउन खोजेको उनको आरोप छ । घटनालाई उचित छानविन गरी न्याय दिलाईदिनका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको कार्कीको बुहारी शारदा कार्कीको भनाई छ ।
यता इलाका प्रहरी कार्यालय दुहवीले अदालतमा मुद्दा दर्ता भइसकेकाले आरोपीतहरुको खोजतलास कार्य जारी रहेको र उनीहरुलाई पक्राउ गरेर अदालतमा जिम्मा लगाएपछि अदालतले यसको निर्णय गर्ने बताउँछ ।