देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा बालविकासको सहयोगी कार्यकर्ताहरुलाई नेपाल सरकारले तोकिएको तलब भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै विद्यालय शिक्षक, बाल विकास शिक्षक, कर्मचारी संरक्षक तथा संघर्ष समिति देवानगंजको संयुक्त टोलीले गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहतालाई ज्ञापन पत्र बुझाएको छ ।
विद्यालय शिक्षक, बाल विकास, कर्मचारी संरक्षक तथा संघर्ष समितिले मंसिर १५ गते बसेको बैठकको निर्णय बमोजिम बाल विकाश शिक्षक, विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगीको तलब भत्ता पालिकाबाट उपलब्ध नगराए आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ ।
नेपाल सरकारद्वारा प्रस्तुत गरिएको बजेट बुँदा नं २१६ मा व्यवस्था अनुरूप एबम् स्थानीय तहलाई प्राप्त भए तापनि उक्त कार्यान्वयन पुस्तिकामा बुँदा नं २१६ मा तलब निकाशा दिनुपर्ने उल्लेख हुँदा हुँदै पालिकाबाट ७ हजार रुपैयाँ नदिएकोले पहिलो चरणमा ज्ञापन पत्र मार्फत तलब भत्ता माग गरेको छ ।
नेपाल शिक्षक संघका संयोजक श्री शिवशंकर मेहता लगायतको टोलीले पालिका अध्यक्ष मेहतालाई ज्ञापन पत्र बुझाएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य बेचन खत्वेले गाउँपालिकाले समयमा समस्या समाधान नगरे आफुहरु अगाडि बढ्ने चेतावनी समेत दिएका छन् ।