इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश–१ को निर्वाचनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । सभापति पदमा थापाले ८ सय ४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्प गरेर पराजित भएका छन् । २ मतान्तरले थापा निर्वाचित भएका थिए । सोमवार सम्पन्न मतगणनाबाट आएको नतिजाले थापा सभापति पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश–१ मा देउवा–सिटौलाको प्यानलबाट सभापति पदमा झापाका थापा निर्वाचित भएको थियो । प्रदेश–१ मा संस्थापन पक्षको वर्चस्व कायम राख्नका लागि सभापति सहित अन्य पदाधिकारीहरुलाई निर्वाचित गराउन देउवा–सिटौलाको गठवन्धन सक्रिय भएको थियो । सभापति पदमा कडा प्रतिस्पर्धा भएपनि थापाले बाजी मारेको छ । निर्वाचनको दिन दुबै पक्षले आ–आफना प्यानललाई निर्वाचित गराउनका लागि मतदातहरुसँग मत मागेका थिए । तथापी संस्थापन इतर पक्षबाट महामन्त्री पदमा एक जना बाहेक अन्य पदाधिकारी पदमा संस्थापन पक्षका उम्मेदवारहरु बिजयी भएका छन् ।
सभापति पदमा गुरुराज घिमिरे पराजित भएपछि पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गराएका छन् । मतगणनामा चित नबुझेकाले पुनः मतगणना गर्नुपर्ने माग सहित निर्वाचन समितिमा निवेदन दर्ता गराएका हुन् ।
त्यसैगरी संस्थापन पक्षबाट उपसभापति पदमा रमेशजंग रायमाझीले ८९१ मत र टंक प्रसाद राईले ८४७ मत ल्याएर निर्वाचित भएका छन् भने संस्थापन इतर पक्षबाट विश्वनाथ रिजालले ६६९ र गोविन्द प्रसाद ढुंगानाले ७६५ मत प्राप्त गरेर पराजित भएका हुन् । यस पदमा दुई जना निर्वाचित भएका हुन् ।
त्यसैगरी संस्थापन इतर पक्षबाट महामन्त्री पदमा सुनसरीका उमेश थापाले ८२३ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यसैगरी संस्थापन पक्षबाट भुपेन्द्र राईले ८२४ मत ल्याएर निर्वाचित भएका छन् । यस पदमा संस्थापन इतर पक्षबाट एक जना र संस्थापन पक्षबाट एक जना निर्वाचित भएका हुन् । सोही पदमा संस्थापन पक्षबाट पदम सुन्दर पालुङ्वाले ८०७ मत र संस्थापन इतर पक्षबाट दिपन कुमार श्रेष्ठले ७६४ मत प्राप्त गरेर पराजित भएका हुन् ।
नेपाली कांग्रेस प्रदेश–१ कार्यसमितिको सह–महामन्त्री पदमा संस्थापन पक्षबाट प्रमिला कुमारी गच्छदारले ८३७ मत ल्याएर निर्वाचित भएकी छिन भने संस्थापन इतर पक्षबाट सीता कार्कीले ७३३ मत प्राप्त गरी पराजित भएकी छिन् । यस पदमा एक जना महिलाको मात्र सिट रहेकोले संस्थापन पक्षबाट गच्छदारले बिजयी भएकी हुन् ।
त्यसैगरी सह–महामन्त्री पदमा संस्थापन पक्षबाट खड्ग फागोले १०२६ मत र विनोद कुमार बस्नेतले ७४७ मत ल्याएर निर्वाचित भएका छन् भने रोहित कुमार साहले ६६५ मत, वीरकाजी राईले ६४७ मत र शुभचन्द्र राईले ८४ मत ल्याएर पराजित भएका हुन् ।
नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाबीच गठवन्धन भएपछि प्रदेश–१ को सभापति पदमा उद्धव थापालाई उम्मेदवार बनाएका थिए । प्रदेश–१ मा संस्थापन इतर पक्ष बलियो हुदाँ हुदै पनि केन्द्रीय नेताहरुले मतदान नगरेका कारणले सभापति लगायतका पदमा पराजित भोग्नु परेको कांग्रेसी नेताहरुको भनाई छ ।
यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कानुनी अडचनका कारण आफुले मतदान नगरेकाले माफी समेत मागेका छन् ।