इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश–१ मा सम्पन्न मतगणनाबाट मुस्लिम कोटाबाट प्रदेश सदस्यमा भोक्राहा नरसिंहकी नेतृ जुलेखा खातुन निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी भोक्राहा नरसिंह गाउँपालिकाका नेता अजमल अख्तर मियाँ पराजित भएका छन् ।
नेपाली कांग्रेस प्रदेश–१ को सदस्य पदमा मुस्लिम खुल्ला कोटाबाट जुलेखा खातुनले ६२२ मत ल्याएर निर्वाचित भएकी छिन भने उनका निकटतम प्रतिद्वन्द्वी अजमल अख्तर मियाँले ५७२ मत प्राप्त गरेर पराजित भएका हुन् । मुस्लिम कोटामा खातुनले ५० मतान्तरले निर्वाचित भएकी हुन् ।
महिला नेतृ खातुन र मियाँ सुनसरी क्षेत्र नम्बर–४(ख) प्रदेशबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए । जुलेखा खातुनले १७८ मत र अजमल अख्तर मियाँले १६७ मत ल्याई बिजयी भएका थिए ।
सुनसरी क्षेत्र नम्बर–४(ख) बाट उनीहरु निर्वाचित भएपनि प्रदेश–१ अधिवेशनमा मुस्लिम कोटाबाट खुल्ला सदस्य पदमा खातुन र मियाँबीच प्रतिस्पर्धा भएको थियो । चुनावी प्रक्रियाबाट मियाँलाई पराजित गर्दै खातुन सो पदमा निर्वाचित भएपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका सहित प्रदेश–१ मा चर्चाको विषय
बनेको छ ।
नेतृ खातुनले प्रदेश–१ सदस्य पदमा निर्वाचित भएपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका सहित प्रदेश–१ मा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत वडा, पालिका, प्रदेश(क) र (ख), क्षेत्र, जिल्ला र प्रदेशमा असन्तुष्ट र पुराना कांग्रेसका नेताहरुलाई एकताको सुत्रमा बाँधी कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि ठोस योजना बनाएर अघि बढ्ने बताईन् ।
कांग्रेस प्रदेश–१ की नवनिर्वाचित सदस्य खातुनले प्रदेशभरीका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई थप उर्जावान बनाई पार्टीलाई बलियो बनाउनका निमित नयाँ रणनीति सहित आगामी स्थानीय तहको निर्वाचनबाट १४ जिल्लालाई कांग्रेसमय बनाउने भूमिका रहने बताईन् ।
प्रदेशको अधिवेशनमा गुट–उपगुटको खाडल देखिएकोले आफनो कार्यकालमा अन्त्य गर्ने गरी मेलमिलाप सहितका कार्यक्रम ल्याउने तयारीमा आफु लागेको खातुनको भनाई छ । ‘फुटको होइन्, जुटको राजनीति गर्ने अभ्यासलाई’ कायम गर्न सक्ने गरी योजना बनाएर अगाडी बढ्ने नेतृ खातुनले प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
सबै एकजुट भएर कांग्रेसको संगठनलाई मजबुत बनाउनेतर्फ लागी पर्ने समेत उनले बताउँदै सहमति, सहकार्य र एकताको सन्देश बोकेर प्रदेश–१ को सबै जिल्ला पुगेर संगठन सुदृढिकरण अभियानलाई निरन्तरता दिदै नयाँदिशाबाट कांग्रेसलाई हाक्ने तयारीमा लाग्ने नवनिर्वाचित सदस्य खातुनले संचारकर्मीको कुराकानीमा बताईन् ।
नेपाली कांग्रेसमा महिलाहरुको सहभागितालाई समेत बढाउन आफनो सक्रियता रहने र महिलाहरुलाई अवसर प्रदान गर्नका लागि आफुले भूमिका खेल्नेमा कुनै कसर बाँकी नराखी काम गर्न पछि नहटने समेत उनले बताएकी छिन् । प्रदेश–१ भरीका मतदाताहरुलाई धन्यवाद दिदै अगामी दिनमा सल्लाह सुझाव सहित साथ सहयोग गर्न समेत उनले अपिल गरेकी छिन् ।