टोमराज
अन्ततः नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत हुन लागेको प्रतिस्पर्धामा मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ ।
यस महाधिवेशनमा कसैले व्यक्तिगत उम्मेदवारी दिएका छन् भने केहीले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । सभापतिमा छ जनाको उम्मेदवारी परे पनि मुख्य चार जनामा प्रतिस्पर्धा हुने छ ।
मुख्यगरी हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । सभापतिमा शेरबहादुर देउवाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।उनको समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन् ।
यसैगरी उनको प्यानलमा महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यस्तै देउवा प्यानलबाट सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खस÷आर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै, शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहेका छन भने महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ । कोइराला प्यानलबाट सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ ।
त्यस्तै अर्का नेता प्रकाशमान सिंहले पनि प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । विश्व प्रकाश शर्मा देउवा प्यानलमा नअटाएपछि अन्तिममा सिंह प्यानलबाट उम्मेदवारी दिएका हुन् । अर्का नेता विमलेन्द्र निधिले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । निधिको टिमको पदाधिकारीको नाम भने खुलेको छैन ।
यसैगरी, सभापतिमा नेता कल्याण गुरुङले र युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन् । १३ औं राष्ट्रिय महाधिवेशनमा कांग्रेसमा तीन जना सभापतिका उम्मेदवार बनेका थिए । देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिमा लडेका थिए ।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा सिटौलाले समर्थन गरेपछि देउवाले जितेका थिए । १४ औं महाधिवेशनमा नेताहरूबीच सभापतिमा आकांक्षी बढेपछि सहमति हुन सकेन ।