इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादव आइतवारदेखी आफ्नो काममा फर्किएका छन् । केही दिनअघि झुम्का कारागारबाट रिहा भएका अध्यक्ष यादव आइतवारबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा पुर्नबहालीसँगै जनताको सेवा गर्ने गरी कार्यालय फर्किएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँ कमिटीको आयोजनामा अध्यक्ष यादवलाई भब्य स्वागत गरेको छ । अध्यक्ष यादवले जिल्ला अदालत सुनसरीबाट सफाई पाएपछि हिन्दु धर्म अनुसार साइत जुराएर आइतवार पालिका प्रवेश गरेका हुन् ।
यादव कारागारबाट रिहा भएपछि गंगास्नान गरेर शुद्धि भई धार्मिक पुजापाठ गरेर पालिकामा कार्यभार सम्हाल्न आएको समाचार श्रोतले जनाएको छ । यादव स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएका थिए । चारवर्ष नबित्दै अध्यक्ष यादवमाथि षडयन्त्र गरि फसाइएको उनका सर्मथकहरुको भनाई छ । अध्यक्ष यादवले पालिकाबाट आइतवारदेखी जनताको कामकाज सुरु गरेका छन् ।