नसीम अन्सारी
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित घुस्कीको शान्ति टोलमा २० घर परिवारलाई हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालद्वारा न्यानो कपडा वितरण गरिएको छ ।
घुस्कीको शान्ति टोलमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालले एक कार्यक्रम आयोजना गरि २० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
कतार च्यारटी नेपालको सहयोग र हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको पहलमा हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीका शान्ति टोलका स्थानीयवासीहरुलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक हजरत हुसेनले बताएको हो ।
हुसेनका अनुसार मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएको छ। चिसोबाट बच्नका लागि हरिनगर गाउँपालिका–६ घुस्कीको शान्ति टोलमा आइतबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको उनले बताए ।
सिरक, डसना, ब्लाङ्केट, स्वीटर, ज्याकेट, टाउजर, ट्रयाकसुट, टोपि जुत्ता, मोजा लगायत लगाउने र ओढ्ने न्यानो कपडा वितरण गरिएको हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम संयोजक हजरत हुसेनले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कतार च्यारटी नेपाल र हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपाल संस्थाले जाडोयामको मौसममा गरिव तथा विपन्न परिवारका लागि न्यानो कपडाले राहत पाएको बताए ।
आयोजक र सहयोगी संस्थालाई अध्यक्ष अन्सारीले धन्यवाद दिदै जनताको दुःख सुखमा साथ दिदै आएको बताए । अध्यक्ष अन्सारीले संस्थाले पुर्याएको योगदानलाई उच्च मुल्यांङ्कन गर्दै जनताको मर्म र भावना अनुसार न्यानो कपडा वितरण उनीहरुलाई कष्टकर जीवनबाट मुक्ति पाउन सहज भएको बताए ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, हरिनगर–६ का वडाध्यक्ष ईस्राईल अन्सारी, वडा सदस्य दाउद अन्सारी, हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष हारुन खाँ, कार्यक्रम संयोजक हजरत हुसेन,सशस्त्र प्रहरी बल घुस्कीका प्रमुख रुपक नापित, प्रहरी चौकी घुस्कीका प्रमुख मदन खड्का लगायतका स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।