इनरुवा । प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले जिल्ला अस्पताल इनरुवामा आज बिहान अनुगमन तथा निरीक्षण गरेका छन् ।
प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले आज बिहान एक्कासी जिल्ला अस्पताल इनरुवा पुगेर अनुगमन तथा निरीक्षण गरेका हुन् ।
जिल्ला अस्पताल इनरुवा सुनसरीबाट बिरामीहरुलाई रेफर गर्ने जनगुनासो बढ्ेपछि मन्त्री यादवले छड्को अनुगमन गरेका हुन् ।
इनरुवा अस्पतालको बेथितिहरुलाई अन्त्य गर्नका लागि यस अघि पनि प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले एक कार्यक्रममा सर्वसाधारणहरुको गुनासो सुनेर गएपछि छड्के अनुगमन गरेका हुन् ।
मन्त्री यादवले फार्मेशी कक्ष, डाक्टरहरुको अवस्था, सरसफाई, एक्स–रे लगायतका कोठाहरुमा पुगेर आफैले छड्के अनुगमन गरेका थिए । मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सहभागितामा एक्कासी इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई केन्द्रीत गर्दै अनुगमन गरेको समाचार श्रोतले जनाएको छ ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पतालको बेथितिका बारेमा आवाज उठाउँदै आएपछि प्रदेश–१ का सामाजिक विकास मन्त्री यादवले सुधारका लागि पहल र प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री यादव सहितको टोली इनरुवा अस्पताल आइपुगेका थिए ।
इनरुवा अस्पतालमा डाक्टरको अभाव, सरसफाईमा कमी, एक्स–रे सुचारु नभएको, फार्मेसीमा औषधीको अभाव लगायतको समस्याहरु देखा परेको मन्त्रीका स्वकीय सचिव देवेन्द्र यादवले जानकारी दिए । इनरुवा अस्पतालमा भर्ना भएका बिरामीहरुको अवस्था समेत मन्त्री यादवले बुझेको स्वकीय सचिव यादवले बताए ।
मन्त्री यादवले इनरुवा अस्पताललाई सुधार गर्ने मेरो पनि प्रमुख जिम्मेवारी भएको बताएका छन् । इनरुवा अस्पतालमा देखा परेका समस्याहरुलाई समाधान गर्नेतर्फ आफु लागि परेको समेत बताए ।
उनले भने, ‘ अस्पतालमा एउटा डाक्टरको व्यवस्था मिलाएको छु । अबका दिनदेखी अस्पतालबाट रेफर हुँदैन् । इनरुवा अस्पतालमा उपचार हुने प्रवन्ध मिलाउँने छु । धेरै सुधारको खाँचो देखेको छु । त्यसैले केही समयभित्र सबै कुुराहरुमा सुधार गर्ने प्रयास गर्छु ।’