टोमराज मेहता
इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नका लागि मंगलवार निर्वाचन सम्पन्न भएको छ । इनरुवाको जेल फिल्डमा १२ बजेदेखी सुरु भएको मतदान मंगलवार बेलुका साढे ७ बजे सम्पन्न भएको हो । नेकपा एमाले सुनसरीको सातौं अधिवेशनमा २ हजार १ सय ५० मतदाताहरु मध्ये १ हजार ८ सय ५० मतदाताले मतदान गरेका छन् । ३ सय ४५ जनाले मतदान नगरेको निर्वाचन समिति सुनसरीले जनाएको छ । गत पुस २३ गते शुक्रवार उद्घाटन भएको नेकपा एमाले सुनसरीको अधिवेशनमा सहमति जुटाउन नसकेपछि मंगलवार निर्वाचन सम्पन्न भएको हो ।
नेकपा एमाले सुनसरीको अध्यक्ष पदमा उम्मेदवारहरु खेमराज पोखरेल, रेवति रमण भण्डारी र द्धारिकलाल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । भण्डारी र चौधरी जिल्लाका पुर्व अध्यक्ष समेत हुन् भने पोखरेल हालका जिल्ला अध्यक्ष हुन् ।
अधिवेशनमा पुर्व अध्यक्षहरु र हालका अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने भएको श्रोतले जनाएको छ । जिल्ला अध्यक्षमा पोखरेल वा भण्डारी मध्ये एक जना निर्वाचित हुने भनिएपनि अध्यक्ष पदमा आंकलन गर्न सकिनै अवस्था नरहेको नेकपा एमालेका एक नेता बताउँछन् । तीन जना अध्यक्ष पदका उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ उनले भने ।
त्यस्तै उपाध्यक्ष पदमा नन्दकुमार बस्नेत, निलम खनाल र लीलम बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । सोमवार बेलुका सहमति गराउँदा लीलम बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि मंगलवार नन्दकुमार बस्नेत र निलम खनालबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
त्यसैगरि उपसचिव पदमा अञ्जनीकुमार पोखरेल, अर्जुन गहतराज, पदमप्रसाद लिम्बु, योग्यराज खड्का, राम कोइराला, लहरुमाया जिमी र लोकेश निरौला गरि ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । ७ जनाबीच सहमति जुटाउन नसकेपछि निर्वाचनबाट दुई जना निर्वाचित हुनेछ । हाल निरौला उपसचिव समेत हुन् ।
त्यस्तै सचिव पदमा पर्शुराम यादव र शत्रुघन यादवले उम्मेदवारी दर्ता गराएका थिए । सोमवार शत्रुघन यादवले उम्मेदवारी फिर्ता लिई पर्शुराम यादवलाई समर्थन गरेपछि उनी निर्विरोध भएका थिए । हाल नेकपा एमाले सुनसरीको सचिव पदको जिम्मेवारी सम्हाल्दै आएका पर्शुराम यादव ७ औं अधिवेशनबाट सर्वसम्मत भएपछि पुनः सचिव भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको अधिवेशनले १ सय ३५ जनाको कार्यसमिति चयन गर्नेछ । निर्वाचन सकिएको र मतगणना भोली (बुधवार) बिहान ८ बजेबाट नेकपा एमाले इनरुवा सुनसरी जिल्ला पार्टी कार्यालयमा सुरु हुने निर्वाचन समितिले जनाएको छ ।