टोमराज मेहता
इनरुवा । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनले कोसी गाउँपालिका–१ लौकहीमा विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । लौकही बजार परिक्रमा गर्दै बजारमा कोण सभामा परिणत भएका थिए । जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले सुनसरी प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोले रिहा गर्नुपर्ने जोडदार माग गरेका थिए ।
आइतवार कोसी गाउँपालिकाको मुलगेट अगाडी आन्दोलन गर्ने क्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले चढ्ने सरकारी गाडी को १ झ ५३९ नम्बरमा तोडफोड गरेको र अध्यक्ष कार्यकक्षमा गाली गलौज गरेको भन्दै सुनसरी प्रहरीले पाँच जना आन्दोलनकारीहरुलाई पक्राउ गरी सोमवार पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । पाँच दिनको म्याद थप गरिए पनि दोश्रो दिन मंगलवार नै धरौटीमा उनीहरुलाई रिहा गरिएको छ ।
विद्यार्थी नेताहरुलाई रिहा नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएपछि पक्राउ परेका पाँच जनालाई पाँच÷पाँच हजारका दरले धरौटीमा रिहा भएको हो । समाजवादी विद्यार्थी युनियनका जिल्ला सह–सचिव ब्रहमदेव यादव, कोसी गाउँपालिका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष देवकुमार यादव र विकास यादव, राजकुमार यादव र अलिम मंसुरीले पाँच÷पाँच हजारका दरले धरौटी बुझाएपछि मंगलवार बेलुका रिहा भएका हुन् ।
रिहा भएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नारा जुलुस गर्दै इनरुवा परिक्रमा गरेका थिए । जसपा नेपालका नेता कार्यकर्ता र विद्यार्थीहरुले नाराबाजी गर्दै इनरुवाको लोकतान्त्रिक चौकमा १५ औं बलिदानी दिवस समेत मनाएका थिए । इनरुवाको लोकतान्त्रिक चौकमा दीप प्रज्जवलन गरी १५ औं बलिदानी दिवस मनाएका थिए ।
जनता समाजवादी पार्टी नेपाल सुनसरीको आयोजनामा मधेश अन्दोलनका क्रममा इनरुवाका श्यामसुन्दर मेहता र हरि मेहताको सम्झनामा १५ औं बलिदानी दिवस मनाएका हुन् ।
जसपाका नेता दिलिप चन साहुले मधेश आन्दोलनका क्रममा शहीद भएका द्धोय मेहताको सम्झनामा दीप प्रज्जवलन गरिएको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै पालिकाहरुमा भ्रष्टाचार बढ्दै गइरहेको बेला जसपा नेपालले खवरदारी गर्ने समेत बताए ।
मधेश आन्दोलनको उपलब्धीबाट आएको संघीयताबाट मुलुकमा ७५३ वटा स्थानीय तहको निर्माण भएकोले भ्रष्टाचार सुनसरीका पालिकाहरुमा बढ्दै गएको बेला जसपा नेपालको आन्दोलन जारी रहने समेत उनले बताए ।
त्यसैगरी समाजवादी विद्यार्थी युनियन सुनसरीका सह–सचिव ब्रहमदेव यादवले शान्तिपुर्ण आन्दोलन गर्ने क्रममा २०६४ माघ १८ गते श्यामसुन्दर मेहता र हरि मेहताले ज्यान गुमाउनु परेको थियो । त्यसको सम्झनामा माघ १८ गते बलिदानी दिवस मनाएको समेत उनले बताए । कार्यक्रमलाई सम्वोधन गर्दै यादवले कोसी गाउँपालिकामा भ्रष्टाचार विरुद्ध आन्दोलन जारी रहने समेत बताए । जसपा नेपाल जिल्ला समन्वय समिति सुनसरीका सह–सचिव अभिनन्द यादवले कार्यक्रम संचालन गरेका थिए ।
यता यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोसी गाउँपालिकामा माघ १६ गते भएको घटनामा समाजवादी विधार्थी युनियनद्वारा शान्ति पुर्ण विरोध प्रदर्शनका क्रममा केही बाहिरका व्यक्तिहरुले घुसपैठ गरी घटना गरेको ठहर छ । विद्यार्थीहरुको कुनै संलग्नता नरहेको र पाँच दलीय गठवन्धनमा आवद्ध रहेका दलहरुले आपसी समन्वय, सहकार्य, वार्ता छलफल गरी अगाडी बढ्ने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।












