इनरुवा । लघुकथाकार रमेन्द्र कोइरालाको लघुकथा संग्रह “फाटेको चप्पल“को चर्चा डा. पुश्करराज भट्ट द्वारा ०७८ माघ ७ गते शुक्रवार राति सात बजे अनलाइन विधिद्वारा भएको थियो ।
उक्त चर्चा तथा रचना वाचन कार्यक्रम ललिता दोषीको प्रमुख आतिथ्यमा बेलबारी विकास समिती, बेलबारी, मोरङबाट भएको थियो । प्रस्तोता समितिकी अध्यक्ष तिला लेकाली हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी डा. पुश्करराज भट्टले उपन्यास ,कविता कथा गजलका पुस्तक निकालिसक्नु भएका रमेन्द्र कोइरालाले पछिल्लो समयमा लघुकथा सङ्ग्रहमा आफ्नो उपस्थिति देखाउनु भएको बताउनुभयो ।
संघर्षशील व्यक्तित्व ,बहु आयामिक स्रष्टा रमेन्द्रको इतिहास हेर्दा यो पुस्तक प्रकाशन भन्दा पहिले नै उहाँले जीवन जगतप्रति आफ्नो दृष्टिकोण बनाइसकेको हुनाले आफ्नो लामो अनुभव यो लघुकथा सङ्ग्रहमा पोखेको महसुस उनले गर्नुभयो ।
उहाँका लघुकथाहरूमा शैक्षिक क्षेत्रमा भएका विकृतीहरू उदाङ्गो पार्दै निर्माण मुखी तथा सकारात्मक सोचको चित्रण गरेको पाइन्छ । शिक्षकको भूमिका बिगार्ने होइन असल नागरिक बनाउने हो भन्ने दृष्टिकोण पाइन्छ ।
त्यस्तै भट्टले वर्तमान सम्बन्धले निर्माण गरेको धरातल ,पुरानो र नया पुस्ताको संक्रमणकालिन अवस्था , समाजका समस्यालाई समाधान गर्ने, कोरोनामा मानवीय संवेदना हराएको,एक अर्कामा दोषारोपण गर्ने ,बाँच्नका लागि जस्तो सम्झौता पनि गर्नु पर्ने बाध्यता आदि जस्ता पक्षमा कोइरालाले लघुकथा लेख्नुभएको छ उनले भन्नुभयो ।
यसरी फाटेको चप्पलको समग्र मूल्यांकन गर्दै डा पुश्करराज भट्टले सरल शब्दावली ,व्यङ्ग्यात्मक चेत,सन्देशात्मक भाव भएका कोइराला अहिलेका पुस्ता मध्ये राम्रो सम्भावना भएका लघुकथाकार हुनुहुन्छ उनले भन्नुभयो । कोइरालाले कुशल लेखकको रूपमा अझ राम्रा राम्रा रचना दिनेमा विश्वस्त भएको उनले बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अन्य साहित्यकारहरूबाट “फाटेको चप्पल“का लागि शुभकामना प्रदान भएको थियो । कार्यक्रममा उपस्थित अन्य श्रष्टाहरूमा लिलानाथ सिलवाल,ईरान् राई,रेखा सुवेदी,खगेन्द्र बस्याल ,गङ्गा अभिलाषी,मिरा काफ्ले ,आर्त अकुलिन आदि दुई दर्जन साहित्यकारहरूले रचना वाचन गर्नुभएको थियो ।












