इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुने बताएका छन् ।
सुनसरीको कोसी गाउँपालिका–१ लौकहीमा आयोजित परिचयात्मक तथा आसन्न स्थानीय तहको निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मेयर मेहताले रोकिएको अनुदान रकम नेपाली कांग्रेसको नेतृत्व सरकारले प्रदान गर्ने भएकोले एक महिनाभित्र बसपार्क संचालन हुने बताएका हुन् ।
नेकपा एमाले नेतृत्व सरकारले बस पार्क संचालन गर्नका लागि ८० करोड भन्दा बढी अनुदान रकम नदिएपछि बसपार्क संचालन गर्न ढिलाई भएको उनले बताए ।
इनरुवा–४ बासीसँग झगडा नरहेको स्पष्ट पार्दै मेयर मेहताले नेपाल सरकारसँग झगडा रहेको बताए ।बसपार्क संचालन गर्नका लागि अनुदान नदिएकोले नेपाल सरकारसँग झगडा रहेको उनले बताउँदै अब सरकारले अनुदान दिने भनेपछि एक महिनाभित्र कुनै पनि हालतमा संचालन हुने बताए ।
इनरुवा नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अन्तरगत नेपाल सरकारले एक अर्व २० करोडको टेण्डर गरेको र बाँकी ८० करोड रुपैयाँ नदिएकोले इनरुवाबासीको तर्फबाट सरकारसँग झगडा गर्दा अहिले ७५ करोड टेण्डर गरेको उनले बताए ।
नेपाल सरकारले शहरी विकास मन्त्रालय अन्तरगत कुरुवाको पुल र कुरुवाको पुलदेखी गणेशपुर हुँदै रामधुनीको सीमासम्म, कंशमडान हुँदै रामधुनीको सीमासम्म र बविया हुँदै जल्पापुरको सीमासम्म लगभग ७५ करोडको टेण्डर भएकाले सरकारसँगको झगडा सकेको र अब एक महिनाभित्र बस पार्क संचालन हुनेमा सबैलाई विश्वस्त रहन मेयर मेहताको भनाई छ ।