इनरुवा । नेपाली कांग्रेस सुनसरीको बैठकले नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन आउँदो फागुन ९ गते गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस सुनसरीको फागुन २ गते सोमवार बसेको बैठकले फागुन ९ गते सोमवार सर्वसहमतिबाट अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको समन्वयमा आउँदो फागुन ९ गते सोमवार सर्वसहमतिबाट अधिवेशन सम्पन्न गराउनका लागि सो बैठकले जिम्मेवारी दिएको हो । नेपाली कांग्रेसको १४ औं अधिवेशनमा दुई समुहबीच विवाद उत्पन्न भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले फागुन १० गतेभित्र सहमितमा पालिका स्तरीय अधिवेशन गराउन निर्देशन दिएपछि भोक्राहा नरसिंह गाउँपालिकामा अधिवेशन हुन लागेको हो ।
नेपाली कांग्रेस सुनसरीको फागुन २ गते बसेको बैठकले आउँदो ५ गते सुनसरीको ४ वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित मध्ये ११÷११ जना महासमिति छनौट गर्नुपर्ने निर्णय सँगै ८ वटै प्रदेश सभाबाट प्रदेश सम्मेलन सदस्यमा छनौट गर्ने निर्णय भएको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहले जनाएको छ ।
कांग्रेसका सचिव साहका अनुसार महासमिति सदस्य र प्रदेश सम्मेलन सदस्य छनौटसँगै फागुन ९ गते भोक्राहा नरसिंहको अधिवेशन सम्पन्न भएपछि फागुन ११ गते १ सय २४ वडाका वडा सभापतिको जिल्ला स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी सो बैठकले आसन्न स्थानीय तहको निर्वाचनको बारेमा फेसबुकबाट आरोप प्रत्यारोप नगर्न र गराउन तथा कांग्रेस पार्टीको हित विपरीत सामाजिक संजालमा पोष्ट नगर्नका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध समेत गरिएको छ ।