इटहरी । मोवाइल लगायतका विद्युतिय उपकरण उत्पादक कम्पनी साओमीले सुनसरीको इटहरीमा मंगलबारदेखि आफ्नो आधिकारीक सोरुम सञ्चालनमा ल्याएको छ ।
साओमीको पूर्वाञ्चल विक्रेता अरुण एण्ड व्रदर्शले इटहरीमा सञ्चालनमा ल्याएको सोरुमको मंगलबार साओमीका एशोशिएट डाइरेक्टर सुवोध कोठारीले उद्घाटन गर्नुभयो । सोरुम उद्घाटन पछि बोल्दै उहाँले साओमीका उत्पादनहरुलाई पूर्वका उपभोक्ताले निकै मनपराएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले साओमीले छोटो समयमै देशभर ११ वटा सोरुम सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपालका लागि साओमीको आधिकारिक विक्रेता टेलिडिरेक्ट प्रा. लि. का एक्ज्युकेटिभ डाइरेक्टर सञ्जय अग्रवालले इटहरीमा पूर्वकै पहिलो तथा देशभरको एघारौं सोरुम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
उपत्यका बाहिर नेपालगञ्ज, दाङ र धनगढी पछि इटहरीमा सोरुम सञ्चालनमा ल्याएको भन्दै उहाँले अब चाँडै पोखरामा पनि सञ्चालन गरिने जानकारी दिनुभयो । खासगरि साओमीको व्राण्डलाई प्रोमोसन गर्ने उद्देश्यका साथ सोरुम सञ्चालनमा ल्याएको भन्दै उहाँले कुनै छुट सुविधा भने नरहने जानकारी दिनुभयो ।
साओमीले मोवाइल सहित टेलिभिजन, मोवाइल एसोसरिजका र इको सिष्टमका सामानहरु उत्पादन गर्ने गरेकाले ती सबै उत्पादन सोरुममा पाइने उहाँले जानकारी दिनुभयो । अन्य वितरकहरुसँग साओमीका सबै प्रकारका सामान एकै ठाउँमा उपलब्ध नहुने भएकाले साओमीका सबै उत्पादन एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालमा ल्याएको सोरुमका सञ्चालक तथा साओमीका क्षेत्रीय विक्रेता अरुण एण्ड व्रदर्शका डाइरेक्टर अभिशेक तोदीले जानकारी दिनुभयो ।
सोरुम उद्घाटनको अवसरमा साओमी नेपालका कन्ट्री जीएम अमितकुमार पाण्डे, टेलिडिरेक्टका जीएम दीपक श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो । खासगरि साओमीको उत्पादनको रुपमा रहेको इएमआइ रेडमी मोवाइल र पोको मोवाइल पछिल्लयो समय उपभोक्तामाझ निकै लोकप्रिय रहेको छ ।