हरिनगर । नेपाली कांग्रेस हरिनगर गाउँपालिका वडा नम्बर–१ को कार्यसमितिको बसेको बैठकले टोल समिति गठन गर्ने निर्णय गरेको छ । हरिनगर–१ को शनिवार बसेको बैठकले फागुन १४ गतेदेखी टोल समिति निर्माण गर्ने कार्यलाई सुरु गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सर्वसम्मतबाट चयन भएका पदाधिकारीहरुले शनिवार हरिनगर–१ को वडा कार्यसमितिको प्रथम बैठकबाट आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै टोल–टोलमा नेपाली कांग्रेसको संगठन बनाई घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने समेत निर्णय गरेको हो ।
नेपाली कांग्रेस हरिनगर–१ नम्बर वडाको कार्यसमितिका पदाधिकारीहरु समेत सक्रिय भएर संगठन निर्माण गर्ने तर्फ अग्रसर हुने र टोल कार्यसमिति निर्माण कार्य सम्पन्न गरी कांग्रेसको संगठनलाई मजबुत बनाउनका लागि घरदैलो कार्यक्रम गर्ने समेत सो बैठकबाट निष्कर्ष निकालेका हुन् ।
नेपाली कांग्रेस हरिनगर गाउँपालिका–१ नम्बर वडाका सभापति अब्दुल लतिफ मियाँको सभापतित्वमा सो बैठक सम्पन्न भएको हो ।
हरिनगर–१ मा आवद्ध रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई जागरुक्क हुन उनले अनुरोध गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउन अहिलेदेखी कसरत सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
सो बैठकमा नेपाली कांग्रेस सुनसरीका सदस्य शमीम अन्सारी र सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) का सचिव नइम अन्सारीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुलाई समेत सो वडा कार्यसमितिले धन्यवाद ज्ञापन गरेको छ ।