इनरुवा । नेपाली कांग्रेस सुनसरीले ‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान आइतबारबाट सुरु गरेको छ । आइतवार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा ‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियानको बिधिवत उद्घाटन गरी अभियान सुरु गरिएको हो ।
‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले संयुक्त रुपमा ‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गरेका थिए ।
नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको सो कार्यक्रममा सुनसरीका १ सय २४ वडाका नेपाली कांग्रेसका नेताहरुलाई एमसीसीका बारेमा प्रशिक्षण दिइएको र वडा–वडाहरुमा गएर जनतालाई एमसीसी बारे बुझाउन घरदैलो कार्यक्रमको सुरुवात पनि गरिएको छ ।
नेपाल सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हुनाले चुनाव लक्षित कार्यक्रम अनुरुप ‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा सुरु गरिएको बुझिएको छ ।
सुनसरीमा नेपाली कांग्रेसलाई जिताउन आवश्यक रहेको भन्दै ‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियान सुनसरीमा सुरु भएको र एमसीसीबारे पैmलाइएको भ्रम चिर्नका लागि अभियान फागुन २९ गतेदेखी चैत्र २९ गतेसम्म एक महिनासम्म संचालन गरिने नेपाली कांग्रेस सुनसरीले जनाएको छ । १ सय २४ जना प्रतिनिधि समेत छनौट गरेर वडा–वडामा पठाइएको छ ।
‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियानमा जनतालाई एमसीसीका बारेमा फैलाइएका भ्रमलाई चिर्नका लागि आइतवार नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिई वडा–वडाको जिम्मेवारी तोकि पठाइएको हो । संगठन सुदृढिकरण अभियानसँगै स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता, र उर्जा अभिबृद्धि गर्ने र कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउन मतदाताहरुलाई अपिल गर्ने बताइएको छ ।
‘हरेक काँधलाई भारि,हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ पार्टीका विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी वाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानिय निर्वाचनमा बृहतर परिचालनतर्फ उन्मुख गराउन नेपाली कांग्रेस सुनसरी लागि परेको छ । अभियानलाई प्रभावकारी बनाउन कांग्रेसका नेताहरु टोल र वडा प्रवेश गर्दै स्थानीय तहको निर्वाचनलाई सफल बनाउन लागि परेका छन् ।
नेकपा एमालेको सरकारले गत तीन वर्षे कार्यकालकालमा भएका जनविरोधी गतिविधि, असवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रुपमा राख्नका लागि अभियान सुरु गरिएको बताइन्छ ।त्यसैगरी राष्ट्रिय सहमतिको स्थिती निर्माण गरेर हालसम्मकै सबैभन्दा ठुलो सहयोग परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको हुदाँ जनस्तरमा छरिएको भ्रमलाई चिर्दै वास्तविकता बुझाउन ‘घर–घर जाँऔं, कांग्रेस जिताऔं’ अभियानले सहयोग पुर्याउने कांग्रेसका नेताहरु बताउँछन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु राजीव कोइराला, अमृत आर्याल, मिन विश्वकर्मा, संघीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योती सुब्बा,सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, सचिव बीरेन्द्र साह लगायतको सयौंकौ सहभागिता रहेको थियो ।