इनरुवा । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा सुनसरीको स्थानिय तहहरुमा उम्मेदवारहरुको नाम चर्चा हुन थालेका छन् । सुनसरीको १२ वटै स्थानिय तहहरुमा बिभिन्न पार्टीका दावेदारहरुको नाम चर्चा हुन थालेका हुन् । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१० जल्पापुरमा नेपाली कांग्रेसबाट तीन जनाको नाम पनि अहिले चर्चा हुन थालेका छन् ।
नेपाली कांग्रेसबाट इनरुवा–१० जल्पापुरमा तीन जनाको नाम चर्चा हुन थालेपछि उनीहरु अहिले जनतासँग भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त भएको पाइएको छ । नेपाली कांग्रेस इनरुवा–१० जल्पापुरको वडाध्यक्षको दावेदारहरु युवा नेता ऐयुव मियाँ,ओली मोहम्मद मियाँ र हाजी खलिल अहिले चर्चामा रहेका छन् ।
नेपाल सरकारले २०७९ साल बैशाख ३० गते स्थानिय तहको निर्वाचन मिति घोषणा गरेको हुदाँ सुनसरीमा पनि चुनावीको सरगर्मि बढ्दै गाएको पाइएको छ । इनरुवा–१० मा गत वर्षको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका सुल्तान मियाँ बिजयी भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार डा. खलिल मंसुरी पराजित भएका थिए ।
आउँदो निर्वाचनमा नेकपा एमालेको लालकिल्ला तोडनका लागि नेपाली कांग्रेसले कसरत सुरु गरेको छ । नेपाली कांग्रेसका युवा नेता ऐयुव मियाँले चुनावी प्रसार प्रसारसँगै प्रत्यक्ष जनतासँग भेटघाट र गुनासो सुन्न घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान लिएर इनरुवा–१० जल्पापुरमा युवा नेता ऐयुब मियाँले जनताको घरदैलोमा पुग्ने गरेका छन् । मियाँ पेशाले निर्माण व्यवसायी हुन् ।
नेकपा एमालेबाट जितेका वडाध्यक्ष मियाँले पाँच वर्षमा जनताले चाहेको विकास गर्न नसकेकोले अबको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आवश्यक रहेको युवा नेता मियाँको कथन छ । इनरुवा–१० मा नेपाली कांग्रेसबाट वडाध्यक्षको दावेदार आफु पनि रहेकोले नेपाली कांग्रेसले युवा नेतृत्वलाई चुनेर टिकट दिनुपर्नेमा उनले जोड दिएका छन् ।
गत स्थानिय तहको निर्वाचनमा यस वडामा कांग्रेसका उम्मेदवार पराजित भएकाले यस पटक युवालाई टिकट दिए जित सुनिश्चित हुने उनको तर्क छ । नेपाली कांग्रेसले मुल्यांकन गरेर काम गर्ने जोश जागरका युवालाई टिकट दिए इनरुवा–१० जल्पापुरमा विकासको लहर ल्याउन पछि नहटने समेत युवा नेता ऐयुव मियाँको कथन छ ।
नेपाली कांग्रेसले युवालाई चुनेर टिकट दिए मात्रै यस वडामा नेकपा एमालेको लाल किल्ला भत्काउन सफल हुने समेत उनको भनाई छ । विकास गर्न आफुसँग भिजन भएको र आफु निर्माण व्यवसायी समेत भएकोले विकासका गतिविधिलाई अगाडी बढाउन सहज हुने उनले बताए । अहिले युवा नेता ऐयुव मियाँ इनरुवा–१० जल्पापुरका जनताले चाहेको उम्मेदवारका रुपमा चर्चित भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका नेता ओली मोहम्मद मियाँ समेत इनरुवा–१० बाट वडाध्यक्षका दोवेदारका रुपमा प्रस्तुत भएका छन् । गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले ओली मोहम्मद मियाँ मजबुत उम्मेदारका रुपमा रहेपनि टिकट नदिएका कारण नेपाली कांग्रेस पराजितको सिकार बनेको थियो ।
नेपाली कांग्रेसका पुराना नेता समेत रहेका ओली मोहम्मदले गत स्थानियको निर्वाचनमा नेपाली कांग्रेसले टिकट उपलब्ध नगराएपनि कांग्रेस पार्टीलाई साथ सहयोग गरेको उनले बताए । पार्टीले मुल्यांकन गत वर्षमा नगरेपनि यस पटकको स्थानिय तहको निर्वाचनमा आफुलाई बिशेष प्राथमिकताका साथ वडाध्यक्षका लागि टिकट उपलब्ध गराउनुपर्ने जोडदार माग समेत उनले गरेका छन् ।
२०३४ सालदेखी नेपाली कांग्रेसको राजनीतिका होमिएको उनले बताउँदै पार्टीका लागि संघर्ष गर्दै काम गरेर जनताको मन जित्न सफल भएको उनले बताए । जनताको सेवामा अहोरात्र खटदै आएकोले गत स्थानिय तहको निर्वाचनमा वाइवास गरिएपनि आउँदो स्थानिय तहको निर्वाचनमा इनरुवा–१० जल्पापुरका लागि नेपाली कांग्रेसको तर्फबाट टिकट उपलब्ध गराई उम्मेदवार बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
त्यसैगरी अर्का वडाध्यक्षका दावेदार हाजी खलिलको पनि चर्चा सुरु भएका छन् । नेपाली कांग्रेसका सिपाही हुँ भन्दै आउँदो स्थानिय तहको निर्वाचनमा इनरुवा–१० जल्पापुरमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका दावेदार भएपछि अहिले उनको नाम पनि चर्चा सुरु भएका छन् । २०३६ सालदेखी निरन्तर नेपाली कांग्रेस पार्टीमा लागेर जनताको सेवा गर्दै आएको उनले बताए ।
२०४० सालमा जल्पापुर गाउँ विकास समितिको वडाध्यक्ष समेत भएको दावी गर्दै आउने स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष पदको दावेदार भएकाले कांग्रेसले अवसरवादीहरुलाई टिकट नदिई काम गर्ने र जित्ने व्यक्तिलाई कांग्रेसले टिकट दिनुपर्ने जोड दिदै नेकपा एमालेको लालकिल्ला भत्काउनु पर्नेमा समेत उनले जोड दिए ।
नेकपा एमालेको लालकिल्ला भत्काउनका लागि नेपाली कांग्रेस सुनसरीले युवा उम्मेदवारलाई छनौट गरेर टिकट दिनुपर्ने स्थानीयहरुले माग समेत गरेका छन् । तथापी इनरुवा १० मा अहिले युवा निर्माण व्यवसायी ऐयुव मियाँको नाम सर्वत्र चर्चामा आउन थालेका छन् । नेपाली कांग्रेसबाट तीन जना वडाध्यक्ष पदमा दावेदार भएपछि कसले बाजी मार्लान् भन्ने बारेमा हेर्न बाँकी नै रहेको छ ।












