गनेश कुमार यादव
इनरुवा । नेपाली कांग्रेस इनरुवा नगरपालिका वडा नम्बर–२ का वडा सचिव वहाव अन्सारी सहित सात जनाले कांग्रेसबाट सामुहिक राजिनामा दिएका छन् ।
नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी आज सामुहिक राजिनामा दिएका हुन् । नेपाली कांग्रेस इनरुवा–२ का वडा सभापति बादल साहलाई सामुहिक राजिनामा दिएका हुन् ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस पार्टीले उचित मुल्यांकन नगरेको भन्दै उनीहरु सामुहिक राजिनामा दिएका हुन् ।
आउँदो स्थानिय तहको निर्वाचनमा इनरुवा–२ बाट उम्मेदवार छनौट गर्दा पार्टीका इमान्दार कर्मठ कार्यकर्ताको मुल्याङ्कन नगरि पार्टीमा हेकमवाद तरिकाले उम्मेदवार छनौट गरेको भन्दै उनीहरु सामूहिक राजिनामा दिएको नेपाली कांग्रेस इनरुवा–२ का वडा सचिव वहाव अन्सारीले जानकारी दिए ।
सातै जनाले नेपाली काँग्रेस इनरुवा–२ का वडा सभापति साहलाई राजिनामा स्विकृतीका लागि सामूहिक रुपमा बुझाएका छन् ।
इनरुवा न.पा वडा नम्बर २ को वडा अध्यक्ष पदका आकांक्षी वहाव अन्सारीले पार्टीले हेकमवाद तरिकाले पद बाँडफाँड भएकोले असन्तुष्टि व्यक्त गर्दै एकलौटी रुपले आफ्नो मान्छे राखेको भन्दै युवाहरुलाई अवसर नदिएको भन्दै सामूहिक राजिनामा दिएको बताए ।
त्यसैगरी लामो समयदेखि नेपाली काँग्रेसमा राजनीति गर्दै आएकी बविता स्वर्णकारले इनरुवा नगरपालिका वडा नम्बर–२ को वडा सदस्य पदको आकांक्षी थिइन् । तर पार्टीले कार्यकर्ता र मतदाताको भावना नबुझिकन पार्टीमा हेकमवाद तरिकाले उम्मेदवार छनौट गरेको भन्दै उनी पनि राजिनामा दिएकी बताएकी छिन् ।
राजिनामा दिनेहरुमा बबिता स्वर्णकार,शिव यादव,रुपेश यादव,वहाव अन्सारी,अख्तर खाँन,राजाराम कुमाल,बद्री पंडित रहेका छन् ।