टोमराज मेहता ।
इनरुवा । सुनसरीको कोसी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार पुनः निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनिता देवी भारी मतले निर्वाचित भएका हुन् ।
कोसीका अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४ सय १६ मत र उपाध्यक्ष पदमा अनिता देवी यादवले ५ हजार ३ सय ९९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोसीले जानकारी दिएको छ ।
नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार ऐयुव अंसारीका प्रतिद्वन्द्वी जनता समाजवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार देव कृष्ण यादवले ५ हजार २ सय १७ मत प्राप्त गरेर पराजित भएका हुन् । कोसीको अध्यक्ष पदमा अंसारीले १ हजार १ सय ९९ मतान्तरले यादवलाई पछि पार्दै निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनिता देवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार अणु देवी खेरवार ४ हजार ७ सय ८ मत प्राप्त गरी पराजित भएका हुन् । कोसी उपाध्यक्ष पदमा यादवले ६ सय ९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् ।
२०७९ को निर्वाचनमा पनि कोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा अन्सारी र यादव निर्वाचित भएपछि कोसीका गाउँबासीहरु खुसीयाली साटासाट गर्दै बधाई तथा शुभकामना दिदैँ उनीहरुले विजयी जुलुस निकालेर पालिका परिक्रमा गरिरहेका छन् ।
कोसी गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टीका सोभित नारायण यादव, कोसी–२ मा नेपाली कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा नेपाली कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा नेकपा एमालेका इसराईल मियाँ, कोसी–५ मा नेपाली कांग्रेसका शाह जमाल, कोसी–६ मा जनता समाजवादी पार्टीका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा नेपाली कांग्रेसका बलराम कुमार क्षेत्री वडाध्यक्ष पदमा प्यानल सहित निर्वाचित भएका छन् ।