टोमराज मेहता
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको तीन वटा वडामा हेल्प डेस्क स्थापना हुने भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१,२ र ७ मा हेल्प डेस्क स्थापना हुने भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा जेठ १० गतेको बसेको बैठकले सो निर्णय गरेको छ । जेठ मसान्तभित्र पालिकाको तीन वटा वडामा हेल्प डेस्क स्थापना गरी सर्वसाधारणहरुलाई निःशुल्क सेवा प्रवाह गर्नेछ ।
भोक्राहा नरसिंह वडा नम्बर–१,२ र ७ को हेल्प डेस्कबाट सर्वसाधारणहरुलाई निःशुल्क फोटोकपी, निवेदन लेख्ने, बिभिन्न फाराम भर्ने, टाइपिङ्ग, प्रिटिङ्ग, इमेल, इन्टरनेट लगायतको सुविधा उपलब्ध हुने भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अख्तर आजादले बताएका छन् ।
भोक्राहा नरसिंहका जनतालाई छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले अहिले तीन वटामा वडामा हेल्प डेस्क स्थापना गर्न लागिएको उनले बताए । भोक्राहा नरसिंहमा अध्यक्ष पदमा जिम्मेवारी सम्हालेका अध्यक्ष आजादले जनताको शासक नभई सेवा गर्नु प्रमुख उद्देश्य भएकाले वडा–वडामा सानो सानो काम गरेर जनतालाई सेवामा सहज हुने गरी काम सुरुवात गर्न थालिएको बताए ।
पालिकाको ८ वटै वडामा समयमा सेवा प्रवाह गर्न नसकेको र सानो सानो कुराहरुलाई लिएर सेवाग्राहीहरुलाई समस्या भएकाले आपूmले हेल्प डेस्क स्थापना गरी सेवालाई छिटो छरितो बनाउन खोजेको पालिकाको अध्यक्ष अख्तर आजादको भनाई छ ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले अहिले तीन वटा वडामा जेठ मसान्तभित्र हेल्प डेस्क स्थापना गर्ने र बाँकी रहेको पाँच वटा वडामा पनि बिस्तारै हेल्प डेस्क स्थापना गर्ने लक्ष्य रहेको बताए ।
अधिकृत मेहताका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाका सर्वसाधारणहरुले पैसा तिरेर बाहिरबाट कागजातहरु ल्याउने समस्या अन्त्य गर्नका लागि पालिकाले राम्रो कामको सुरुवात गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अख्तर आजादले गरेको यो निर्णयलाई पालिकाका सर्वसाधारणहरुले स्वागत गरेका छन् ।