सुनसरी । इटहरी उप–महानगरपालिका–९ गोल्डेन चोकमा रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ जना पक्राउ परेका छन् ।
पसलबाट मोबाइल चोरी गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
जेष्ठ १५ गते राति मोबाइल पसलको सटर फोडेर मोबाइल चोर्नेलाई इटहरी प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ वर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन् । उनीहरुले ३ लाख बरावरको विभिन्न कम्पनीको मोबाइलहरू चोरी गरेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकीछिपी बसेको अवस्थामा चोरी भएको ३ वटा मोबाइल सेट सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए। डिएसपी खड्काले भने उनीहरुलाई पक्राउ गरेर ल्याइ कारवाही अगाडि बढाएका छ ।