इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–४ बाट सरकारका प्रवक्ता समेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरी पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
गठवन्धनबाट नेपाली कांग्रेसबाट सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनबाट जनताको चाहना र विकास तथा समृद्धिका लागि उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
सरकारले शन्तिपूर्ण, निष्पक्ष, धाँधलीरहीत, विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गराउने उनले जानकारी दिए । संविधान जारी भएपछि २०७४ सालको पहिलो प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका थिए ।
यसैगरी सुनसरी क्षेत्र नम्बर–४(क) नेपाली कांग्रेसको तर्फबाट सदानन्द मण्डल र सुनसरी क्षेत्र नम्बर–४(ख) बाट हाजी इस्राइल मंसुरीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले र जसपाको गठवन्धनबाट सुनसरी–४(क) मा पर्शुराम बस्नेत र (ख) मा अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा सुनसरीले जानकारी दिएको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनबाट सुनसरी क्षेत्र नम्बर–४ मा जगदिश प्रसाद कुसियैतले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–४(क) बाट कुसियैत प्रदेशसभा सदस्यमा विजयी भएका थिए । नेकपा एमाले–जसपाको गठवन्धनबाट सुनसरी–४ (क) मा जसपाबाट पर्शुराम बस्नेत र (ख) मा नेकपा एमालेबाट अब्बास अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनसरी क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभाका लागि राप्रपाबाट विद्यानन्द यादव र डाक्टर खालिद हुसैनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर–४ मा कार्की र कुसियैतबीच कडा प्रतिस्पर्धा हुने श्रोतले जनाएको छ ।