इनरुवा । सूचना,सञ्चार एवं प्रविधि मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा दिएका ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुशियैतलाई संविधान अध्ययन गर्न सुझाव दिएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ स्थित हरिनगर बजारमा शुक्रबार आयोजित लोकतान्त्रिक बाम गठबन्धन चुनावी आम सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले कुसियैतलाई संविधान पढ्न सुझाव दिएका हुन । कार्कीविरुद्ध एमालेका उम्मेदवार कुसियैतले बाहिरबाट आएर सुनसरी क्षेत्र नम्बर ४ मा चुनाव लडेको झुठो प्रोपोगन्डा फैलाउने काम गरेको कारण उनलाई देशको संविधान पढ्न मन्त्री कार्कीले सुझाव दिएका छन् ।
राष्ट्रिय नेताले देशको १६५ चुनावी क्षेत्रमध्ये जहाँबाट चुनाव लडने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै उनले सो कुरा कुसियैतलाई जानकारी अभाव रहेको देखिएका कारण संविधान पढ्न सुझाव दिएका छन् । चुनावी आफ्नो कुनै एजेन्डा नभएपछि कुशियैतले जनतालाई भ्रममा पार्ने काम गरिरहेको मन्त्री कार्कीले बताए । आफू विकास गर्न आएकोले जनता उनको भ्रम नपर्ने र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनलाई दुई तिहाइ बहुमतका साथ विजयी बनाउनेमा आफूहरू ढुक्क रहेको उनले बताए ।
आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै सुनसरी क्षेत्र नं–४ को प्रतिनिधि सभाका उम्मेदवार मन्त्री कार्कीले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । मन्त्री कार्की गठबन्धनका साझा नेपाली काँग्रेसका उम्मेदवार हुन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् ।
सुनसरी क्षेत्र नं– ४ मा पर्ने कोसी गाउँपालीका,भोक्राहा नरसिंह गाउँपालिको सबै वडासहित हरिनगरको १, २, ४, ५, ६,७ इनरुवाको ३, ४ र ८ रामधुनीको १ वटा वडा बराहक्षेत्र ६, ७, ८, ९, १० र ११ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा एमालेका प्रभावशाली नेता रमेश श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । पुनः चुनावी मैदानमा होमिएका मन्त्री कार्कीका मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका नेता जगदीश कुसियैत देखिएका छन् । मन्त्री कार्की आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् ।
उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका मन्त्री कार्की यस पटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने मन्त्री कार्की सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभाग्यका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् ।
मन्त्री कार्कीले हरिनगर–४ मा सुनसरी बहुमुखी क्याम्पस बनाउन सहयोग गरेको, हरिनगर–१ को रामनगर भुटाहामा पाँच करोडको शीत भण्डार स्थापना बजेट बिनियोजन गरेको र हरिनगर–४ लाई सदरमुकाम बनाउनका लागि हरिनगर गाउँपालिकाको सबै सडकहरु कालोपत्रे गरि जोड्नका लागि काम भएको र त्यसमा संसदीय कोषको रकम प्रदान गरिएको बताए ।