सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल–भारतबीचको सम्वन्धलाई सुदृढ गर्न आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–७ घुस्कीमा आयोजित चुनावी आमसभालाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले नेपाल–भारतबीचको सम्वन्ध केवल सरकार र सरकारबीचको मात्र नभई जनता र जनताबीचमा रहेको बताउनुभएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भारतीय सीमावर्ती क्षेत्रको विकास गर्न पनि जरुरी रहेको बताउनुभयो । नेपाल–भारतबीचको सुमधुर सम्वन्धलाई कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले संविधान र लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व, देशलाई आर्थिक समृद्धिमा अगाडि बढाउनका लागि गठबन्धन गरिएको बताउनुभयो । लोकतान्त्रिक बाम गठबन्धन आज पनि आवश्यकता छ, भोली पनि रहनेछ, उहाँले भन्नुभयो,‘निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्नेछ ।’