सुनसरी । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीलाई ५ कठ्ठा ७ धुुर जग्गादान गरेका छन् ।
इनरुवा नगरपालिकाका प्रमुख भण्डरीले आयुर्वेद अस्पताल निर्माणका लागि जग्गादान गर्ने घोषणा गरेको केही महिनापछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीलाई राजीनामा पास गर्दै जग्गा निःशुल्क प्रदान गरेका छन् ।
इनरुवा–५ र ६ को बीचमा रहेको देवेन्द्र चौकनजिकै इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डरीको पत्नी विन्दु पौडेलको नाममा रहेको पाँच कठ्ठा सात धुर जग्गा असार २६ गते पास गरी निःशुल्क प्रदान गरेका हुन् ।
भण्डारी परिवारले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएकोे आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीवकुमार यादवले जानकारी दिए । यादवका अनुसार भण्डारी परिवारबाट २०७९ मा दानको घोषणा भएकोमा २०८० को असार २६ गते जग्गा आयुर्वेद स्वास्थ्य केन्द्रको नाममा रजिष्ट्रेशन पास भएको हो । केन्द्रले सरकारी मापदण्डबमोजिम जग्गा प्राप्त गरेसँगै अब आफ्नै कार्यालय भवन र आयुर्वेद अस्पताल निर्माण गर्ने जनाएको छ ।
आवश्यक जग्गा उपलब्ध हुन नसक्दा हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इनरुवा–२ को टेम्पो स्टेण्डस्थित भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य रहेको छ ।