कुमोद अधिकारी
बिराटनगर । नेपाल प्रहरी कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत भएका छन् ।
११ महिनाअघि परीक्षामा उतीर्ण भएका ५३ जना महिलासहित दुई सय ९५ जना प्रहरी जवानहरुलाई प्रहरी तालिम केन्द्र रानी बिराटगनरमा आज आयोजित कार्यक्रममा उनीहरु दीक्षीत भएका हुन् ।
कार्यक्रममा बोल्नुहुँदै कोशी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कानूनको परिपालना गर्दै जनताको सहयोगी बनेर आफनो कर्तब्य निर्वाह गर्न दीक्षीत भएका प्रहरीहरुलाई निर्देशन दिनुभयो ।
कोशी प्रहरी प्रमुख बास्तोलाले जनताले तिरेको करको मूल्य चुकाउन पनि जनताको सेवा आवश्यक रहेको उल्लेख गर्नुहुँदै मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रहरीको स्वच्छ छवि र प्रगति नै प्रहरी संगठनको प्रगति हो भन्दै उहाँले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै शान्ति सुव्यवस्था कायम गर्न सदैव सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
तालिम केन्द्रका संयोजक राजन अधिकारीले असल प्रहरीको रुपमा जनताको सेवक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
दीक्षीत भएका प्रहरीहरुलाई तालिम केन्द्रमा ११ महिनासम्म बिभिन्न प्रकारका अधारभूत तथा सुरक्षा सम्वन्धी तालिक उपलब्ध गराएको थियो ।
सो अवसरमा कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलाले बिभिन्न विद्यामा उतीर्ण हुने र तालिम प्रदान गर्ने प्रहरीहरुलाई सम्मान पत्र वितरण गर्नुभएको थियो ।












