विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको परिणाम अनुसार खतिवडाले प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
खतिवडाले ५१२ मत प्राप्त गर्दा पराजित ढकालले ४३० मत पाएको निर्वाचन कमिटीका संयोजक बरिष्ठ अधिवक्ता चुडामणि आचार्यले घोषणा गरे ।
अध्यक्ष निर्वाचित खतिवडा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित गरिएका उम्मेदवार हुन् ।
प्रदेश कमिटीको सचिवमा पनि खतिवडा समुहकै राजकुमार भण्डारी फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । भण्डारीले ५२४ मत पाउँदा सचिवका प्रत्यासी ढकाल समुहका लडेका शैलेश लामाले ३८१ मत प्राप्त गरेका हुन् ।
दुई उपसचिवका लागि भएको निर्वाचनमा पनि खतिवडा समुहकै जलबर्षा राजवंशीले लोकप्रीय ६२८ मत पाइन् । अर्का उपसचिवमा खतिवडा समुहबाटै देवान राईले ६१० मत प्राप्त गरि निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार भएको दाबी गरेपनि ढकाल समुहमा खुलेका राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली उपसचिवमा पराजित भए । उनले ३९७ मत प्राप्त गरेका हुन् ।
प्रदेश कमिटीको उपाध्यक्षमा भने धनकुटाका टिकाराम चेम्जोङको मात्रै उम्मेदवारी परेका कारण उनी सर्वसम्मत भएका छन् ।
जीतसँगै खतिवडाले एमाले मोरङको पाचौं जिल्ला अधिवेशनमा ढकालसँग भोगेको हारको बदला पनि लिएका छन् ।
खतिवडा मोरङको भुगोलबाट राजनीति गरेका एमालेका इमानदार र निष्ठावान नेता हुन् । उनी मदन भण्डारीसँग समेत काम गरेका नेता हुन् ।
२०४९ मा साबिक लेटाङ गाबिसको अध्यक्ष भएका खतिवडा त्यसपछिको जीवन एमालेको राजनीतिमै सुम्पिएर अघि बढेका हुन् । उनी २०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
निर्वाचन कमिटीका अनुसार प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरु भने मतदानमा अनुपस्थित भएका थिए । सभार : उद्घोष डेली अनलाइन