भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा सभामुख कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को आयोजनामा बुधबारबाट प्रथम कोशी प्रदेश सभामुख कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष सेराज हुसेनको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको कोशी प्रदेशका कार्यवाहक सभामुख एवं सुनसरी क्षेत्र नम्बर ४ (ख ) बाट निर्वाचित कोशी प्रदेश सांसद हाजी डाक्टर इसराइल मन्सुरीले उद्घाटन गरेका हुन ।
सो फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा कोशी गाउँपालीकाकी उपाध्यक्ष अनिता यादव,नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति तथा कोशी गाउँपालीका वडा नम्बर ३ का अध्यक्ष सुलेमान मन्सुरी,नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष हारुन अन्सारी, भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ का अध्यक्ष सेराजुद्दिन अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव,पूर्व क्षेत्रीय सचिव राजेन्द्र मेहता,नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीकाका उपसभापति मुस्ताक मियाँ,नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ का सभापति जमालउद्दिन मन्सुरी,रिजुल आलम लगायतको उपस्थिति रहेकोे थियो भने प्रतियोगिताको पहिलो खेल हेर्न सयौंको संख्यामा दर्शक मैदान पुगेका थिए ।
यसैबीच प्रथम कोशी प्रदेश सभामुख कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राजाबास फुटबल क्लब विजयी भएको छ ।
उद्घाटन खेलमा रामधुनी युवा क्लबलाई १ : ० गोलले हराउँदै राजाबास फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको सभामुख कप फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ भने प्रतियोगिताको विजेता टोलिले सिल्ड मेडल, प्रमाणपत्र सहित नगद २५ हजार र उपविजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ स्थित रहेको जामिया खेलमैदानमा कोशी प्रदेश सांसद सांसद हाजी डाक्टर इसराइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ को सहयोगमा प्रथम कोशी प्रदेश सभामुख कप फुटबल प्रतियोगिता सुरु भएको जनाइएको छ ।