सुनसरी । सुनसरीको दक्षिणी भेगमा भारतको सिमासँग जोडिएका हरिनगर गाउँपालिकाले सिसिटिभि क्यामरा जडान गरी गलत गतिविधि रोक्न निगरानी बढाएको छ ।
हुलाकी राजमार्गमा हुने सडक दुर्घटना गरेर फरार हुने सवारी साधनहरुलाई निगरानी राख्नका लागि पहिलो चरणमा हुलाकी मार्गको तीन ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएको हो । साथै चोरी नियन्त्रण, तस्करी नियन्त्रणमा पनि ठुलो सहयोग हुने भएको छ ।
सिसिटिभिको कन्टरोल स्थानीय जनपथ प्रहरी निकायलाई दिइने हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले बताउनुभएको छ । हुलाकी तथा सहायक मार्गबाट ओहोर दोहोर गर्ने सवारी साधनहरुको नम्बर प्लेट , सवारी साधनको पहिचान र तस्वीर स्वतः एटोमेटिक रुपमा कैद भइ रहने खालको एटोमेटिक सिसिटिभी क्यामरा जडान गरिएको छ ।
पछि कुन कुन सवारी साधन कतिको स्पीडमा गुडि रहेको समेत स्पीड रेकर्ड लिने क्षमता बृद्धि गरिने समेत अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । भारत नेपालको खुला सिमाका कारण चोरी ,तस्करी ,अपराध हुने गरेकाले सोको नियन्त्रणका लागि पनि भुटाहा बस्मतिया रोड , भुटाहा घुस्की रोडहरुमा सिसिटिभी क्यामराहरु जडान गर्ने लक्ष्य रहेको अध्यक्ष अन्सारीले बताउनुभयो ।