भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा आज सम्पन्न पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी भोक्राहा नरसिंह-५ ले जितेको छ ।
आज सम्पन्न भएको खेलमा भोक्राहा नरसिंह-४ लाई प्यालेन्टी सुटआउटमा ७-६ गोलले हराउँदै भोक्राहा नरसिंह-५ ले उपाधी हात पारेको हो ।
निर्धारित समयमा दुबै टिमले खोल गर्न नसकेपछि टाइब्रेकरमा दुबै टाेलिबाट ८/८ जना खेलाडीले प्यालेन्टी हानेको थियो ।
भोक्राहा नरसिंह-५ ले ७ गोल दिन सफल भए भने भोक्राहा नरसिंह-४ ले ६ गोल मात्र गरेपछी फाइनल खेलको बिजेता भोक्राहा नरसिंह-५ बन्न सफल भएको आयोजक संस्थाका काेषाध्यक्ष फिरोज अन्सारीले जानकारी दिए ।
फाइनल खेलमा बिजेता बनेका भोक्राहा नरसिंह-५ लाई ३० हजार नगद,सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रथम हुने टिमलाई कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले पुरस्कार वितरण गरेका छन् ।
उपविजेता बनेका भोक्राहा नरसिंह-४ लाई २० हजार नगद,सिल्ड, मेडल र प्रमाणपत्र भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले पुरस्कार वितरण गरेका हुन् ।
अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ को आयोजना र भोक्राहा नरसिंह-४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक सहयोगमा पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता कार्तिक २३ गते बाट सुरु भएको थियो ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता ईदगाह खेल मैदान कब्रिस्थानको अगाडी सम्पन्न भएको हो ।
अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंहका अध्यक्ष मोजम्मिल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको प्रमुख अतिथी हाजी ईस्राइल मन्सुरी,विशिष्ट अतिथिहरु हरिनगरका अध्यक्ष हाजी गफार अन्सारी, कोशीका अध्यक्ष ऐयुव अन्सारी, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्तर अजादको सहभागिता थियो ।
त्यसैगरी नेपाल मुस्लिम संघ सुनसरीका अध्यक्ष तथा भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारी, भोक्राहा नरसिंह-२ का वडा अध्यक्ष आलम अन्सारी, ३ का वडा अध्यक्ष धिरेन्द्र यादव, ५ का वडा अध्यक्ष हबिब मन्सुरी, ८ का अध्यक्ष उसमान मियाँ लगायतका बिभिन्न वडाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल तरुण दलका केन्द्रिय सदस्य सुनिल कुमार साह,नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर-४ का सचिव जुगेश्वर यादव, पुर्व सचीव तथा प्रभावशाली युवा नेता राजेन्द्र प्रसाद मेहता, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सभापति युवराज दाहाल, उपसभापति मुस्ताक मियाँ ,युवा नेता जमालुद्दिन मन्सुरी लगायतका सहभागिता रहेको थियो ।
भोक्राहा नरसिंह-४ का वडा सचिव शिव नारायण यादवले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रममा प्रत्यक्ष , अप्रत्यक्ष सहयोग गर्ने एक दर्जन भन्दा बढीलाई सम्मान गरिएको थियोे ।