इनरुवा। सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल रामधुनी मन्दिरमा नियमित पुजा भईरहेको र तालाबन्दी नभएको रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
एकसता अघि रामधुनीमा पुजापाठमा रोक र तलाबन्दी गरेको सूचना विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको विषयमा समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार मन्दिरमै पत्रकार सम्मेलनको आयोजना गरेर तालाबन्दीको घटना नभएको र सूचना निराधार रहेको जानकारी दिनुभयो ।
रामधुनी नगरपालिकाका प्रमुख शङकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्मक ढकाल सहितको उपस्थितिमा समितिका अध्यक्ष डिल्ली कार्कीले मन्दिरमै पत्रकार सम्मेलन गरेर मन्दिर धार्मिक स्थल भएको र यसमा गलत नजर लगाउने महिनारायण चौधरीको कारणले निराधार हल्ला बाहिर फैलाएको दाबी गर्नुभयो ।
मन्दिरमा कुनैपनि तालाबन्दीको घटना नभएको र पुजापाठमा पनि रोकाबट नभएको तथ गलत तथा निराधार सूचना चौधरीले फैलाएको अध्यक्ष कार्कीले दावी गर्नुभयो ।
फागुन ८ गते विभिन्न संचार माध्यममा भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको समाचार आएको थियो ।
मन्दिरका पुजारी महन्त काशीदास उदासीले उक्त मितिमा पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार समितिका अध्यक्ष डिल्र्ली कार्की नेतृत्वको टोलीले मन्दिरमा ताला लगाई पुजाआजमा रोक लगाएको भनिएको थियो ।
रामधुनी मन्दिरका महन्त काशीदास उदासीले गुठी संस्थानको अधिनस्थ रहेको अधिकार प्राप्त मठलाई बेवास्ता गर्दै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यस्थापन नामको समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको समूहले मन्दिरमा ताला लगाएर पराम्परागत रुपमा हुँदै आएको पूजा रोकेको आरोप लगाएको थियो ।
नेपाल सरकार गुठी संस्थानले रामधुनी मठ सुनसरीका नाममा मठ परिषद्को २२ हेक्टर र सो वरिपरीको धार्मिक वन ६११ हेक्टर लगायतको आसपासको जग्गा मठको नाममा रामधुनी गुठी तैनाथी जग्गा दर्ता गरिदिने व्यवस्था अनुसार मठका नाममा धार्मिक तथा सांस्कृतिक संरक्षण गर्ने गरी दर्ता गर्ने आदेश दिए अनुसार मठ गुठी संस्थानको अधिनस्थ हुँदाहुँदै रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले अनाधिकृत रुपमा हस्तक्षेप गरेको उदासी पक्षको आरोप छ ।
उता आरोप लगाइएका समितिका अध्यक्ष डिल्ली कार्कीले पत्रकार सम्मेलन गरी आफुमाथि लगाइएको आरोप सरासर निराधार र झुटो भएको दाबी गर्नुभयो ।
उता दुई दिन अघि मात्रै जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत रामधुनी मन्दिरमा नियमित पुजा रोकिएको र तलाबन्दी गरेको सूचनाको विषयमा स्थलत अनुगमन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा सुरक्षा अधिकारीले गरेको अनुगमनका क्रममा बाहिर आएको हल्ला र समाचार जस्तो पुजा रोकिएको र तलाबन्दी नगरेको पाइएको रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन सहित सरोकारबाला पक्षसंग छलफल गर्दा मन्दिरमा पुजा रोकिएको र तलाबन्दी गरेको कुरा पुष्टी नभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।–––