बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाका बेरोजगार महिला, पुरूष लाई न्यूनतम रोजगारी दिने उद्देश्यका साथ ग्रामथान गाउँपालिकाका रोजगार शाखाले विभिन्न वडाका विकास योजना संञ्चालनलाई तिव्र बनाएको छ ।
यस योजनामा महिलाहरू सहभागी भई रोजगारी पाएसँगै घर परिवार चलाऊन सहज भएको महिलाहरू बताउँछन् । वडाहरूले छनोट गरेका विकास योजनाहरू कुलो पैनी मर्मत , खानेपानी पाईप लाईन विस्तार, सडकको नाला सरसफाई लगायत कार्य सम्पन्न गरेको ग्रामथान रोजगार शाखाले जनाएको छ ।
यस प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी गर्ने महिलाहरूको सहभागिता आकर्षण बढेको पाईन्छ । पुरूष सरह महिलाले पनि श्रम गर्न अबल रहेको पाईएको छ। वडाका विकास योजनाहरू पैनि मर्मत, खानेपानी पाईप लाईन विस्तार लगाएत कार्यहरू महिलाहरूकै सहभागितामा सम्पन्न गरेको थियो।
वडा नं ५ का झपटा पैनी मर्मत तथा सरसफाई कार्य , वडा नं ४ को खानेपानी पाईप लाईन विस्तार, विर्ता पैनी मर्मत तथा सरसफाई कार्य पनि समपन्न भैईसकेको छ। महिलाले रोजगारीबाट पाएको रकमलाई सहि सदुपयोग गर्ने गरेको पाईएको छ। महिलाहरूले घर व्यवहार, छोरा छोरीहरूको लताकपडा, घरमा विधूत मिटर जडान, घर मर्मत तथा नयाँ घर निर्माण, घरमा जस्ता खरिद,खेती खर्च, परिवारको औषधी उपचार, गाई, बाख्रा, सुगुर खरिद लगायतमा खर्च गर्ने गरेको रोजगारीमा सहभागी महिलाहरूले बताउँछन् ।
रोजगारीमा सहभागी पवित्रा कुमारी विश्वकर्माले रोजगारीबाट पाएको रकमले घरमा विधुत मिटर जडान लगायत घर व्यवहारमा खर्च गरेको बताईन् । सुसिला देवी चौधरीले रोजगारीबाट पाएको रमकबाट घर बनाएको र साईकल खरिद तथा घर व्यवहार मा खर्च गरेको बताईन् ।
रोजगारीमा सहभागी महिलाहरूले रोजगारीबाट पाएको पैसालाई सदुपयोग गरेको पाईएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमले महिलाहरूलाई समुहमा काम गर्ने बानीको विकास गर्न सहयोग पुगेको छ। रोजगार शाखाले स्वरोजगारका लागि समुहिक करेसाबारी लगायत कार्यक्रमहरू संञ्चालन गर्नुपर्ने ग्रामथान गाउँपालिका पूर्व उपाध्यक्ष फुल कुमारी चौधरीले जोड दिएका थिए।
ग्रामथान गाउँ पालिका पूर्व अध्यक्ष शिव नारायण माझीले वडाले बेरोजगार महिलाहरूलाई रोजगारी दिई वडाका पैनी मर्मत तथा खानेपानी पाईप लाईन विस्तार गर्न सहज भएको बताउँछन् । ग्रामथान गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भेष नारायण चौधरीले रोजगार शाखाको कार्यक्रमले वडाका छुटेका विकासका योजना संञ्चालन गर्न सहज भएको र बेरोजगारीहरूलाई रोजगारी दिन सफल भएको र पैनी मर्मत ले सयौ विगाह खेती सिंचाईमा सहज भएको बताए ।
ग्रामथान गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बद्री नारायण चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनले हामीले वडाका खानेपानी पाईप लाईन विस्तार र विर्ता पैनी मर्मत तथा सरसफाई कार्य सम्पन्न गरेको बताउँदै बेरोजगारीलाई रोजगारीमा सहभागी गराएको बताए।
प्रधानमन्त्री रोजगारी कार्यक्रममा सहभागी महिलाहरूलाई क्षमतामा विकाससँगै वडा, गाउँपालिका , बैंक लगायतका कार्यालयमा आफ्ना कामहरू सहज रूपमा जानकारी तथा सेवा लिन क्षमतामा विकास गरेको पाईएको छ।