इनरुवा । सुनसरीको झुम्का कारागार भित्र शनिबार ४२ वर्षिय न्यायधिश राईको मृत्यु भएको छ ।
पत्नी हत्याको आरोपमा कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका खोटाङगको साकला गाउँपालिका घरभई हाल इटहरी उपमहानगरपालिका ४ मा डेरा गरि बस्दै आएका ४२ वर्षिय राईको करागार भित्रै मृत्यु भएको हो । करागार भित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् ।
कारागारमा भाईको हत्या भएको दावी गर्नुहुदै घटनाको छानविन गर्नुपर्ने मृत्तक न्यायधिशका दाई सुभाष राईले माग गर्नुभयो । न्यायधिशको शरिरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले आफै काल गतीले नभई कारागार भित्रै कुटेर हत्या गरेको मृत्तकका भाउजु उर्मिला राईले दावी गर्नुभयो ।
कैदीबन्दी न्यायधिश राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुब्रराज कोईरालाले बताउनुभयो । स्वाशप्रस्वाशमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र सोही क्रममा मृत्यु भएको उहाँले प्रतिकृया दिनुभयो ।
यसैबीच मृतकका आफन्तले कारागार भित्रै हत्या गरेको र करागार प्रमुखले उपचारको क्रममा मृत्यु भएको दावी गरेपनि जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भईसकेको अवस्थामा ल्याएको प्रतिकृया दिनुभयो ।
पीडित पक्षले न्याय र क्षतीपुर्ती नदिएसम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।