इनरुवा । लगातारको बर्षासंगै आएको बाढीका कारणले सुनसरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टापुमा ३ दिन देखि थुनिएका २५ जना आइतबार उद्धार गरिएको छ ।
बराहक्षेत्र–६ ठाकुरवारी स्थित सप्तकोसी नदीको बीच टापुमा गाई भैंसीको गोठालो राख्दै आएका शुक्रबारदेखि सप्तकोशी नदीमा एक्कासी पानीको बहाव बढ्दै गएपछि अलपत्र परेका थिए ।
अलपत्र परेका २५ जनालाई सबै सरोकारवालको प्रयासमा उद्धार गरिएको डुङ्गा मार्फत उद्धार गरिएको सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, सशस्त्र प्रहरी बल ४ नम्वर गण सुनसरीका प्रमुख समेनन्द बज्राचार्य, नेपाल प्रहरी, राष्ट्रिय अनुशन्धान, नेपाली सेना र डुङ्गाको बन्दो बस्ति गर्ने, स्थानीयवासी सहितको सहयोगमा अलपत्र परेका २५ जनालाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
शनिबार बिहानदेखि बाढीको पानीमा फसेकाको उद्धारका लागि संयुक्त टोली परिचालन हुदा समेत वर्षाका कारणले सम्भव हुन सकेको थिएन ।
बिहानै घाम उदाएसंगै संयुक्त उद्धारको टोलीले डुङ्गा मार्फत २५ जनाको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डुङ्गा मार्फत २५ जनाको सकुसल उद्धार भएपछि खुसी भएका छन् ।