सप्तरी / सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरका २६ वर्षीय मनभरन भनिने मनिषकुमार यादव अचानक बिरामी परे । उनका बुवा ५६ वर्षीय सीताराम यादव र आमा ५० वर्षीया सतनी देबी केही आफन्त लिएर शनिबार बिहान ३७ वर्षीया एक गाउँले महिलाकहाँ पुगे।
घर पस्नासाथ उनीहरू ती महिलामाथि जाइलागे। पाँच दिनअघि ती महिला सीतारामको खेतमा जनमजदुरी गर्न गएकी थिइन्। मजदुरी गर्न गएकै दिनदेखि छोरा बिरामी परेकोले महिलामाथि दोष थोपर्दै रोग निको पार्न दबाब दिए। मनिषलाई टुनामुना गरेर ‘बोक्सी’ लगाएर बिरामी पारेकाले ठीक गरे केही नगर्ने, ठीक नपारे मलमुत्र खुवाएर‘बोक्सी’ विद्या नष्ट गर्ने भन्दै पीडितलाई धम्क्याए।
महिलाले आफू ‘बोक्सी’ नभएको र आफूले बिरामी नपारेको भन्दै हात जोडिन्। केहीबेर महिलालाई र्याखर्याख्ति पारेपछि बिरामी भनेर सुतेका मनिष एक्कासि उठे र महिलाको जगल्टा समातेर लछारपछार पारे। जगल्टा समातेर घिस्याउँदै मनिषले गाउँलेहरूको बीचबाट २ सय मिटर टाढा रहेको आफ्नो घर लगेर दिउँसो १ बजेसम्म बन्धक बनाए।
पीडित महिलाका श्रीमान् वैदेशिक रोजगारका लागि कतारमा बस्छन्। नाबालिका छोरीसँग बसेकी महिलाले हारगुहार गर्न थालिन्। जति गुहारे पनि उनको केही सीप चलेन। ‘बोक्सी’ विद्या नष्ट गर्न भन्दै उनीहरूले अडहुलको फूल खुवाए, मलमुत्र ठीक पार्न लगाए। ‘बोक्सी’ आरोपमा महिलालाई बन्धक बनाएर राखेको जानकारी पाएपछि प्रहरी चौकी झूटकीबाट २ जना प्रहरी आए। दुई प्रहरीले मात्र उद्धार गर्न नसकेपछि २ जना प्रहरी थपिए।
प्रहरी टोलीले आरोपितको घरबाट महिलालाई निकालेर लैजान खोजे। आरोपितहरू प्रहरीमाथि नै खनिए। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप प्रहरी टोली मद्दतका लागि आयो। महिलालाई प्रहरीले उद्धार गरेर घर पुर्यायो।
यस्तो अमानवीय व्यवहारलाई मनिषका भाइ २३ वर्षीय जितु भनिने जितेन्द्रकुमार यादव तथा छिमेकीहरू ३५ वर्षीय लालुप्रसाद यादव र ६२ वर्षीय देव नारायण साहुले साथ दिए। गाउँका बालबालिकाहरू र महिलाहरू रमिते बने, काममा ननिक्लिएका थोरै पुरुषहरू किंकर्तव्यविमुढ बने।
बोक्सीको आरोपमा गरिने हिंसाविरुद्ध बोक्सीको आरोप ९कसुर र सजाय० ऐन २०७२ आएको ९ वर्ष बितिसक्दा पनि समाजमा महिलालाई ‘बोक्सी’ भनेर आरोप लगाउने, कुटपिट गर्ने र दुःख दिने क्रम भने घटेको छैन।
महिलामाथि सीताराम, सतनीदेवी र मनिषले ज्यादती गरिरहदा मनिषका भाइ र उनका आफन्तले घटनाको भिडिओ बनाए। गाउँलेहरूको भीडबाट लुकेर अन्य एकजनाले बनाएको भिडिओबारे आरोपितहरूले चाल नै पाएनन्। अहिले त्यहीँ भिडिओ प्रमाणका रूपमा पेश भएको छ।
निकै मुश्किलले उक्त भिडिओ हात परेपछि अमानवीय व्यवहार र कुटपिट खेपेकी महिला गाउँलेसहित सोमबार जिल्ला प्रहरी कार्यालय आएकी छन्। उनले घरआँगनदेखि जगल्टा समातेर घिस्याउँदै आरोपितहरूले आफ्नो घर लगेर बन्धक बनाएको घटना झल्झल्ती आँखा अगाडि नाच्ने गरेको बताइन्। सार्वजनिक रूपमा गरिएको अमानवीय व्यवहारले निरन्तर मानसिक पीडा दिने गरेको उनी बताउँछिन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्धी बज्राचार्यले घटनाको भिडिओ हेरेपछि थप अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइने बताएका छन्।
बोक्सीको आरोप ९कसुर र सजाय० ऐन २०७२ को दफा ११ मा कसुरको मात्रा हेरेर आरोपितलाई आठ वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिवानाको व्यवस्था छ।
सामाजिक कूरीति र अन्धविश्वासका रूपमा रहेको यस्तो कार्य दण्डनीय बनाइए पनि ग्रामीण भेगमा सहजै बोक्सी आरोपमा कुटपिट गर्ने र सहमति हुने गरेको अधिवक्ता रामकुमार यादव बताउँछन्।
अधिकांश जस्तो घटनामा प्रहरीले विश्वास नै नगर्ने र सामान्य कुटपिटको घटना मानेर बेवास्ता गर्ने गरेको अधिकारकर्मीहरूको भनाइ छ। बोक्सीको आरोपमा गालीगलौज, दुव्र्यवहार र कुटपिटका घटना हुने गरे पनि प्रहरीले वास्ता नगरेका कारण पीडकले उन्मुक्ति पाउने गरेको अधिकारकर्मी अधिकारकर्मी देबी माया भट्टराईले बताइन्। उनका अनुसार प्रहरीले उजुरी दर्ता नगरे पछि पीडितहरू परमादेशमार्फत उजुरी दर्ता गर्न बाध्य हुने गरेका छन्।
गाउँलेहरू र प्रहरीलेसमेत सामान्य घटना मानेर मेलमिलाप गराएर न्यायको बाटो बन्द गरिदिने गरेको अधिकारकर्मी दुर्गा परियारले बताए। परियारका अनुसार मधेस प्रदेशका सबै जिल्लाको अवस्था पीडादायी र प्रवृत्ति डरलाग्दो छ, प्रहरीले उजूरी नै लिँदैन। मेलमिलाप गराउँछ वा अदालतको बाटो देखाउँछ।
‘चेतनाको कमी र पितृसत्तात्मक सोचका कारणले बोक्सी भनेर यातना दिने, अमानवीय व्यवहार गर्ने क्रम कम हुन सकेको छैन।’ परियार भन्छन्, ‘मानिसको सोचमा परिवर्तन ल्याउन सचेतनामूलक कार्यक्रम र पीडकलाई कडा कानुनी कारबाही गरिनुपर्छ।’