इटहरी : इटहरीमा शनिबार साँझ एकाएक गर्दै थुप्रै मानिसहरु भेला भए । आमन्त्रित मानिसहरुले कानेखुशी गर्दै साँझको उल्लास मनाइरहेका जस्ता देखिन्थे । इटहरीका कवि देवान किराँतीको एकल वाचन कार्यक्रममा आमन्त्रित मानिसहरु कवितासँगै उल्लास मनाइरहेका थिए ।
इटहरीको शब्द प्रवाहले आयोजना गरेको काव्य सन्ध्या कार्यक्रममा एकल कविता वाचन गर्न आइपुगेका कवि किराँती थोरै गम्भीर जस्ता पनि देखिन्थे । देशकै चर्चित कवि जसराज किराँतीका छोरा उनी वंशज कविका रुपमा पनि चिनिन्छन् । कार्यक्रममा जसराज किराँती स्वयम् आमन्त्रित भएकाले देवान गम्भीर देखिएको अनुमान लगाउन सकिन्थ्यो ।
‘म पाठक मात्र हो, म मौन रहेर पढ्न लेख्न चाहने मान्छे हुँ,’ कवि देवानले कविता सुनाउनु पूर्व भने, ‘मुलुकको राजनीतिले अहिले भयवित बनाइरहेको छ, म कविताजस्तै केही लेख्छु, कविता हो कि होइन थाहा छैन ।’
उनले आँफू कवि हो कि होइन भन्ने अन्यौल रहेको उदृत गर्दा हलमा रहेको भीँड गल्लल हाँस्यो । देवानले आँफूमा बाबु जसराज किराँतीको काव्यिक गुण विरासतका रुपमा आएको उल्लेख गरे ।
उनले आफ्ना पिता, कवि जसराजलाई सम्मुख राखेर कविता सुनाएको यो पहिलोपटक हो ।
कवि देवान, नेपाली कविता क्षेत्रका अग्ला व्यक्तिका रुपमा परिचित छन् । उनको शालीनता र भद्रताले नयाँ र पुराना पुस्तासँग नजिक रहेका कवि देवानले एकपछि अर्को गर्दै शनिबार साँझ १० वटा कविता सुनाए ।
उनले मृत्यु जीवनको उत्सव रहेको र यो शाश्वत सत्य रहेको उल्लेख गर्दै कविता सुनाउन सुरु गरे ।
‘गाँठी कुरा’, ‘षड्यन्त्र’, ‘रोटी’, ‘प्रेमको लास’, ‘चिसो’, ‘निमन्त्रणा’, ‘मृत्युको गुलाफ’, ‘मन्दिर र चिहान’, ‘पुरानो प्रेम’ र ‘सत्य’ शीर्षकका कविता सुनाएका थिए । देवानले कार्यक्रममा अन्तिम कविता ‘सत्य’ सुनाइसक्दा ‘वाहवाही’ पायो । उनको उक्त कविताले दर्शक दीर्घबाट निकैबेरसम्म ‘वान्स मोर्–वान्स मोर्’ पाएको थियो ।
देवान किराँतीका बारेमा बोल्दै नाट्यकर्मी सोनु जयन्तीले उनका कविताका पात्र क्लियर रहने बताए । सरल शब्द प्रयोग गरेर शक्तिशाली काव्य निर्माण गर्नसक्ने क्षमता रहेको बताउँदै देवानले थोरै कविता मात्रै बाहिर ल्याउने गरेको नाट्यकर्मी जयन्तीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिलले कवि देवान आफ्नो पुरानो साथी रहेको र उनका कवितामा सरलता सँगै गहिराइ हुने बताए ।
कवि बद्री भिखारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई विराट अनुपमले सहजीकरण गरेका थिए ।
श्रोत: takuranews.com