बुटवल । रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बर्दिया र नवलपरासी विजयी भएका छन् । आज भएको खेलमा बर्दियाले प्युठानलाई १० विकेट र नवलपरासीले बाँकेलाई ५ विकेटले पराजित गरेका हुन् । प्युठानको यो लगातार दोस्रो हार हो
सिद्धार्थ रंगशालामा टस जितेर व्याटिङ गरेको प्युठानले ५ विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि सुजन पुन मगरले २७ र सविन केसीले १५ रन बनाए । बलिङमा बर्दियाका रोहित सुनारले २, नितेशकुमार यादव, हेमन्त आचार्य र राजीव साहुले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दियाले १२ ओभर १ बलमा विना क्षति १०५ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा नितेश कुमार यादवले ४६ बलमा ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै, साहिल शेखले ३५ रन जोडे । नितेश कुमार यादव म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १०४ रन बनायो । उसका लागि प्रवीण कुमालले २६ र पियुष प्रजापतिले २३ रन बनाए । बलिङमा नवलपरासीका रमेश पाण्डेले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । यस्तै, नूर आलम अन्सारीले ३, विजयकुमार लोहार, गया सहानी र हिल्सन पाण्डे क्षेत्रीले समान १÷१ विकेट लिए ।
प्रतिउत्तरमा नवलपरासीले १६ ओभर १ बलमा ५ विकेट क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । उसका लागि हिल्सन पाण्डे क्षेत्रीले ३५ र अभिषेक पटवाले १७ रन बनाए । बलिङमा बाँकेका धनबहादुर थापा र मग्बुल राईले समान २÷२ विकेट लिए । हिल्सन पाण्डे क्षेत्री म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागिता रहेको आयोजकले जनाएका छन् ।