मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई बलिउडमा कहिल्यै सुपरस्टारको दर्जा दिइएन, तर उनी बलिउडका एक मात्र अभिनेता हुन जसले आफ्नो नाममा त्यस्तो एउटा कीर्तिमान बनाएका छन् जुन अहिलेसम्म कसैले तोड्न सकेका छैन ।
बलिउडका ‘डिस्को डान्सर’ मिथुन चक्रवर्ती जुन १६ मा आफ्नो ७१ औं जन्मोत्सव मनाइरहेका छन् । ३५० भन्दा धेरै चलचित्रमा अभिनय गरेका अभिनेता मिथुन अहिलेसम्म पनि अभिनयमा सक्रिय छन् ।
जन्मदिनको विशेष अवसरमा मिथुनबारे धेरैलाई कमैमात्रै थाहा भएका केही रोचक तथ्यहरुः
अभिनेता मिथुन चक्रवर्तीको वास्तविक नाम गौरांग चक्रवर्ती हो । उनको जन्म सन् १९५० जुन १६ मा भएको थियो । कोलकात्तामा आफ्नो पढाई पूरा गरेका उनले रसायन विज्ञानमा स्नातक गरेका थिए । यसका साथै उनले पूणेस्थित टेलिभिजन इन्टिच्युट अफ इन्डियाबाट अभिनय कोर्समा स्नातक पनि गरेका छन् ।
नक्सल आन्दोलन, भाइको मृत्युले फेरिएको यात्रा
कलेज पढ्दाताका मिथुन चक्रवर्ती नक्सल आन्दोलनबाट अत्यन्त प्रभावित भएका थिए । उनी आफैलाई नक्सल मान्न थाले र परिवारबाट टाढा बस्न थाले । तर, सोही क्रममा एक दुर्घटनामा उनका भाइको निधन भयो, जसपश्चात उनी आफ्नो परिवारसँग फर्किए ।
डेब्यु चलचित्रले दिएको चर्चा
मिथुनले सन् १९७६ मा मृणाल सेनको चलचित्र ‘मृगया’बाट बलिउडमा डेब्यु गरेका थिए । पहिलो चलचित्रबाटै उनले ‘उत्कृष्ट अभिनेता’को विधामा राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । पहिलो चलचित्रबाटै उनको अभिनयको क्षमता प्रमाणित भएको थियो ।
चलचित्रको वर्षा
पहिलो चलचित्रपछि मिथुनलाई एकपछि अर्कोगर्दै साना–ठूला चलचित्रमा अफर आउन सुरु भयो । चलचित्रको करिअरमा ३५० भन्दा धेरै चलचित्रमा काम गरेका मिथुनका सुपरहिट र यादगार चलचित्रहरु, डिस्को डान्सर, अग्निपथ, जल्लाद, कमान्डो, गुरु, ओ माय गड, सौकिन, स्वामी दादा, पसन्द अपनी अपनी, घर एक मन्दिर, जाग उठा इन्सान, स्वर्ग से सुन्दरलगायत हुन् ।
आजसम्म कसैले तोड्न नसकेको उनको रेकर्ड
अभिनेता मिथुन कुनै समय बलिउडका व्यस्त कलाकाहरु मध्ये एक हुन् । यसभन्दा पनि उनले एउटा त्यस्तो रेकर्ड कायम गरेका छन् जुन आजसम्म पनि कसैले तोड्न सकेका छैनन् ।
सन् १९८९ सालमा मुख्य अभिनेतको रुपमा मिथुनको १९ वटा चलचित्रहरु रिलिज भएका थिए । यसका लागि मिथुनको नाम लिम्का बुक अफ रेकर्डसमा उल्लेख भएको थियो र कायमै छ । अहिलेसम्म यो रेकर्ड अरु कुनै बलिउड कलाकारले तोड्न सकेका छैनन् ।
सयौं अवार्ड नाममा
मिथुन चक्रवर्तीले अहिलेसम्म तीनवटा राष्ट्रिय, दुई फिल्मफेयर अवार्डगरि सयौं देशी तथा विदेशी अवार्डहरु प्राप्त गरिसेका छन् । आज पनि भारतका कैयौं ग्रामीण क्षेत्रमा मिथुनका चलचित्रहरु उत्तिकै रुचाइन्छ ।
नवभारत टाइम्स