घोषणा भएका केही महत्वाकांक्षी चलचित्रको काम शुरु हुन नसक्नु यसको उदाहरण हो । कतिपय निर्माता चर्चाकै लागि चलचित्रको घोषणा गरिदिन्छन् र बनाउँदैनन् । कतिपय त चलचित्रका लागि निर्माता खोज्नकै लागि हल्ला गरिदिन्छन् ।
‘प्रसाद’ चलचित्र हिट भएपछि दर्शकलाई यसको सिरिजको प्रतीक्षा छ । तर, सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन शुरु गर्न भने निर्माणपक्षलाई फलामको चिउरा चपाए झैं भइसकेको छ ।
चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहनेछ । चलचित्रका निर्देशक चौधरीले आफूहरु लोकेसन हेर्नका लागि पाल्पा पुगेको जानकारी दिए । ‘हामी केही दिनदेखि पाल्पामा छौं । अब केही दिनमै काठमाडौं फर्किन्छौं । चलचित्रको छायांकन चाँडै शुरु हुन्छ ।’
हुन त, यसको निर्माणपक्षले छायांकन शुरु हुन्छ भनेको पहिलो पटक भने होइन ।