इटहरी । महिला र मधुमेह स्वस्थ भविष्य हाम्रो अधिकार भन्ने नाराका साथ विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । अन्तराष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि मनाउन यो मनाउन सुरु गरिएको छ ।
विश्वभर १९ करोड ९० लाख महिलाहरु मधुमेहका रोगी रहेका छन् । ती मध्येपनि पुरुषमा भन्दा महिलामा मधुमेहको समस्या बढी हुने गरेको अन्तराष्ट्रिय मधुमेह महासंघले जनाएको छ ।
प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने गरेको महासंघको अध्ययनले देखाएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
अहिलेकै दरमा यो रोगका बिरामी बढे सन् २०४० सम्ममा ३ अर्ब १३ लाख मानिस मधुमेहबाट प्रभावित हुने महासंघको अनुमान छ । मधुमेहका कारण विश्वमा हरेक बर्ष २१ लाख मानिसको मृत्यु हुने गरेको छ ।
अशिक्षा, उचित औषधी र स्याहारको कमीका कारण मधुमेहका रोगी दिन प्रतिदिन बढिरहेका छन् । शारीरिक कसरत, खानपान र जीवनस्तरमा सुधार गर्न सके यो रोगमा कमी आउने चिकित्सकहरु बताउँछन् ।