काठमाडौं : कोरोना जोखिम पुनः बढेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह भएको छ। शनिबार दिउँसो ट्वीट गर्दै राष्ट्रपति भण्डारीले केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको भन्दै यस्तो आग्रह गरेकी हुन् ।
ट्वीटमा जनस्वास्थ्यका सुरक्षात्मक उपायहरु कडाइका साथ पालना गर्न आग्रह गरिएको छ। यसअघि सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण नियन्त्रण उन्मुख भएको कोरोना संक्रमण अहिले पुनः बढेको भन्दै ट्वीटमा चिन्ता व्यक्त गरिएको छ।
‘कोभिड–१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु’, राष्ट्रपतिको ट्वीटमा भनिएको छ।