लघुकथा
इज्जत
रमेन्द्र कोइराला
इनरुवा -९ बबिया
सुनसरी । पार्वतीले ओछ्यानतिर हेरी । सात वर्षकी छोरी रुँदारुँदा सुतेकी, दस वर्षको छोरा मुकेश र तेह्र वर्षको छोरा रितेस उसैको मुखतिर टुलुटुलु हेरिरहेका थिए । हाड छाला मात्र बाँकी रहेको बिरामी लोग्ने टुक्रुक्क बसेर ठिट लाग्दो तरिकाले उसैलाई हेरिरहेको थियो । बत्तीको मधुरो प्रकाशमा दर्दनाक दृश्य दृस्टीगोचर भइरहेको थियो । यो दृश्यले पार्वतीको मुटु कटक्क काट्यो ।
हिजो बेलुकादेखि चुलो बलेको थिएन । एक्लो ज्यानले कमाएर पाल्नु पर्थ्यो पार्वतीले । पन्द्र दिनदेखिको लक डाउनले काम बन्द थियो । छरछिमेक,ऐंचोपैंचो कोही बाँकी थिएन । एउटै उपाय थियो खेत मालिक । अस्ति केही रुपैया पेस्की माग्दा इज्जतसंँग साट्ने प्रस्ताव राखेको थियो उसले ।
तर अहिलेसम्म जोगाएर राखेको मोती जस्तो इज्जत फ्यालेर मुर्दा जीवन जीउने आंँट उसमा थिएन । पतिलाई सुनाउँदा कराएको थियो – ” त्यसको त्यत्रो हिम्मत ? ”
आज पति र बालबच्चाको अवस्थाले उसलाई खुब पिरोलिरहेको छ । के गर्ने के नगर्ने उपाय छैन । पतिको आँखातिर हेरी । भनी -“के गर्ने त हजुर ? केही उपाय छैन कहाँ जाऊँ?”
पति पनि मानसिक द्वन्दमा थियो । उसले पनि केही उपाय देखेको थिएन । तुरुक्क आँसु चुहाएर भन्यो –
“अब त्यही खेत मालिक बाँकी छ !”
“उफ ! इज्जत फाल्नु ! ” ऊ कराई ।
“भोक भन्दा ठूलो होइन ।” उसले मजबुर देखायो ।
“अहँ ! हुँदैन मबाट । ” ऊसले निस्चय गरी ।
एक्लै बसेर धेरै सोची तर परिवारको भोक भन्दा इज्जत ठूलो भन्ने उसको विचार क्रमशः कमजोर हुँदै गैरहेको थियो ।
एकाएक उसका पाइलाहरू खेतमालिकको निवासतिर चल्न थाले ।
बादल लागेको थियो । बिजुलीको चमकमा अचानक उसले एउटा टल्किने वस्तु देखी । उठाएर हेरेको त एक हजारको नोट रहेछ ।
आफ्नो इज्जत जोगिएकोमा ईश्वरलाई धन्यवाद दिंदै ऊ घरतिर फर्की ।
०७८/०२/०५