उनीहरू कर्कश चिच्याइरहेछन्
बिस्तारै, बिस्तारै
हो,
उनीहरूलाई कत्ति हतार छैन ।
हतार छैन
हजारौँ वर्ष कतै छुटेको अप्ठयारो बाटो हिँड्न
र, पुग्न नयाँ गन्तव्य ।
हतार छैन
खोज्न अजम्मरी झिल्को
र, चिर्न निष्पट्ट अन्धकार ।
हतार छैन
युगौँ युग लुटिएको सपनाको हिसाब खोज्न
र, कुटिल समयविरुद्ध उभ्भिन ।
हतार छैन
बारुद बोकेर टाउकोमा
आफ्नै अस्तित्वको घोषणा गर्न ।
तर,
म हतारमा छु
लामो श्वास फेर्न
उन्मुक्त उड्न
र, बतासलाई स्पर्श गर्न ।
म हतारमा छु
तिमीसम्म आइपुग्न
तिमीसँगै सपना बुन्न
तिमीसँगै बाँच्न
तिमीजस्तै मान्छे बन्न ।
म हतारमा छु
मौनताको कैद तोड्न
र ढाल्न ढोङ बाँचिरहेको यो समाज ।
मलाई स्वीकार्य छैन बिस्तारै ।
बिस्तारै-
तालिनु हो
जम्नु हो ।
महाशय !
बिस्तारै पर्खनु
मृत्युलाई पर्खनु हो ।
श्रोत ः इकागज